पूर्वेली लोकगीतको अवस्था विगत पनि ठिकै थियो, वर्तमान पनि ठिकै छ र भविष्य पनि ठिकै हुनेछ... - Jiten Rai

Jiten Rai
जितेन राई पुर्वेली लोक गीतका लोकप्रिय गायक हुन् । तर उनी गायक मात्र नभएर गीतकार, संगीतकार र किराती सास्कृतिका संरक्षक तथा सचेत नागरिक पनि हुन् । कुनै समय शम्भु राई तथा जे.बी. टुहूरेहरूसित गाउँ गाउँमा गएर जागृती गीत गाउँने जितेन राईले पछि आएर आफ्ना सुरिलो स्वरले सजिएका लोक गीती संगालो बजारमा ल्याएपछि उनको लोकप्रीयता बढेर गयो । खासगरिकन गाउँ घरका केटाकेटी, बुढाबुढी र तरुनी तन्नेरीहरूले उनलाई निकै रुचाए । मालीगों काटी नी लै लै बिनायो बाजा....., गाई जौं बारीमा......,, उराँठै लाग्छ नी...., अरुनै तरेा तम्मरै तरेँ, जस्ता उनका गीतहरू अहिले पनि लोकप्रीय मानिन्छन् । उनले राई भाषाका तथा जातीय सास्कृति पस्किने विभिन्न गीतहरू पनि गाउँनु भएकोछ । उनको काठमाण्डौंको अनामनगरस्थित दोभान संगीत स्टूडियो संचालनमा छ

प्रश्न: अहिले के गर्दै हुनुहुन्छ ?

उत्तर: अहिले म गीत संगीतको अलावा समाज सेवामा छु । खासगरि नेपाली संगीतको मूलस्रोत विनायो, टुङ बाजा (यलम्बर बाजा), मुर्चुङ्गा, चरीबाजा लगायत लोपोन्मुख बाजाहरूको निर्माण, प्रशिक्षण र प्रदर्शनीमा जुटेको छु ।

 

प्रश्न: तपाईको नयाँ गीति एल्बम केही आएको छ कि छैन ?

उत्तर: मेरो गीति एल्बम केही समय अगाडि 'नौलखा सांगीतिक वृत्तचित्र' (Musical Documentary)  प्रकाशनमा आएको छ ।

 

प्रश्न:  पूर्वेली लोक गीतको वर्तमान अवस्था कस्तो छ ?

उत्तर: पूर्वेली लोकगीतको अवस्था विगत पनि ठिकै थियो, वर्तमान पनि ठिकै छ र भविष्य पनि ठिकै हुनेछ । किन भने लोक रहिन्जेल लोक सास्कृति अथवा लोक गीत, संगीत रहिरहन्छ । चर्चाको हिसाबले तलमाथी हुनसक्छ त्यति मात्रै हो 

 

प्रश्न: राज्यको पुनरसंरचनासँगै गीत संगीतमा कस्तो पुनरसंरचनाको जरुरी छ ?

उत्तर: नेपाल बहुसाँस्कृति भएको मुलुक हो । नेपालमा लामो समयसम्म एकात्मक राज्य व्यवस्था रह्यो । यहाँ बहुभाषी, बहुधर्मावलम्बीहरू माथी एकात्मक हिसाबले राज्य सञ्चालन भयो । जसको कारणले नेपाली संगीतको मूख्य स्रोत (मुहान) नै धमिलो हुन पुग्यो । नेपाली संगीतको व्याख्या र विश्लेषण जथाभावी रुपमा भयो । खास गरि पूर्वीय संगीतको होलसेल बजारमा नेपाली संगीतलाई मिसाइयो । भारतीय संगीत र नेपाली संगीतमा भिन्नता नदेखाई संगीत रचना र सम्प्रेशन गरियो त्यहिनेर गल्ति भएको छ । त्यस हिसाबले नेपाली संगीतको पुनव्यख्या र पुनरसंरचना आवश्यक छ ।

 

प्रश्न: तपाईले नेपाली गीति संगीतमा दिनुभएको योगदानको बारेमा के भन्नु हुन्छ ?

उत्तर: नेपाली गीत संगीत जगतमा मेरो योगदान रह्यो कि रहेन, रह्यो भने कति र कस्तो खाल्को रह्यो त्यो मैले भन्ने विषय भएन । त्यो त तपाईहरू जस्तो बुज्रुक श्रोताहरूले मूल्याङ्कन गर्ने विषय हो ।

 

प्रश्न: नयाँ पिढीले लोक गीतलाई कसरी लिएको पाउनु भएको छ ?

उत्तर: लोक अथवा जगत एकै प्रकारले अनन्त कालसम्म चल्दैन । आज भन्दा अगाडिको लोक र जगतले निर्माण गरि आप्नाएका लोक संस्कृति, लोकगीत, लोक संगीत आजको पुस्ताले त्यही रुपमा अपनाउँनु पर्छ भन्ने कूनै जरुरी छैन । फेरी लोक सास्कृति र लोक गीत भनेको मान्छेको जीवन शैली अथवा जीवन पद्धतिसँग जोडिएको हुन्छ । त्यसकारण आजका पुस्ताले आजकै जीवन शैलीसँग मेल खाने लोकगीत बनाउने हो । तर आजका नयाँ पिढी वारि न पारिको अवस्थामा छ तसर्थ मेरो पुस्ताले वारि र पारिकालाई जोड्ने पुलको काम गर्न जरुरी छ ।

 

प्रश्न: रिमिक्स सास्कृतिलाई कसरी लिनुभएको छ ? तपाईको कुनै गीतको रिमिक्स भएको छ कि छैन ?

उत्तर: मेरो विचारमा रिमिक्स सास्कृति विल्कुल गलत हो । रिमिक्स गर्ने समयमा नयाँ निमार्ण गरेहुन्छ । रिमिक्स गर्ने खर्चले नयाँ रेकर्ड गर्दा राम्रो हुन्छ । जुनसुकै सिर्जना त्यो आफैमा अर्थ राख्छ, त्यसकारण त्यसको अर्को अर्थ खोजिरहनु पर्दैन अथवा सुनमा अर्को सुनको लेपन लाउनुको कुनै अर्थ छैन । नयाँ सृजना गर्न नसक्नेले मात्र रिमिक्समा विश्वास गर्दछ । मेरो गीतमा पनि रिमिक्स भएको छ ।

 

प्रश्न: खास गरि पश्चिमी शैलीका दोहोरी गीतको बाढी चल्दा पूर्वेली भाकाको दोहोरी गीतबारे केही गर्ने सोच आउँदैन ?

उत्तर: नेपालको पश्चिम भेकतिर दोहोरी भनिन्छ भने नेपालको पूर्वतिर त्यस्तै प्रकारले गीत गाउने तरिकालाई जुवारी भनिन्छ । जुवारी गीत अथवा दोहोरी गीत हिजो देखिनै थियो । चर्चाको हिसाबले आजभोली अलिक बढि छ किन भने सञ्चार माध्यमहरू हिजोको तुलनामा आज धेरै छन् । दोहोरी गीतमा भाका कहिले पूर्वको कहिले पश्चिमको चल्नु स्वाभाविकै हो । 

 

प्रश्न: संगीतले पेट पालिदिएको अवस्था छ कि छैन ?

उत्तर: सबै कलाकारको बारेमा म भन्न चाहन्न, मेरो बारेमा भन्न सक्छु । म पूर्णरुपले व्यावसायिक कलाकार भन्दा पनि सोखले संगीतलाई अपनाएका व्यक्ति हुँ । म जति पनि गीत संगीत सृजना गर्छु त्यसको विषयवस्तुलाई राम्ररी समाउने प्रयत्न गर्छु । त्यसकारण त्यस्ता खालका गीतहरू त्यति व्यवसायिक हुँदैनन् । तपाई मार्फत मेरा श्रोताहरूले त्यसरी नै बुझिदिनु भए राम्रो हुने थियो ।

 

प्रश्न: राई किराती संस्कृति उत्थानमा सांगीतिक हिसाबले तपाईले राम्रो योगदान दिनु भएको पाइन्छ । त्यस क्षेत्रमा अहिले के गर्दै हुनुहुन्छ ?

उत्तर: सबै भन्दा पहिला त म मान्छे हुँ, त्यस पछि राष्ट्रियताको हिसाबले नेपाली हुँ अनि वर्ण विन्यासको अथवा जातिको हिसाबले किराती राई हुँ । म किराती राई हुनुको नाताले मैले आफ्नो जातिको सास्कृति उत्थान, सम्वर्द्धन र प्रवर्द्धनमा आफ्नो कर्तव्य मात्रै निर्वाह गरेको हुँ । किराती संस्कृतिको मूल जरो किराती सभ्यता होला अथवा किराती जाति होला । त्यो जरा रह्यो भने सग्लो रुख रहला, त्यस रुखको सयौँ हाँगाहरूबाट सयौं फूलहरू फूल्लान् र ति फूलहरू दुनियाँका मान्छेहरूले सुन्दर र मनमोहक ठानेर निःशन्देह अवलोकन गर्न सक्नेछन् । म अहिले त्यहि मूलजरोको रक्षामा जुटेको छु अथवा नेपाली संस्कृतिको संरक्षणमा जुटिरहेकोछु ।

 

प्रश्न: अन्तमा बगैंचा डट कमबाट संसार भरका तपाईको श्रोताहरूलाई केही भन्नु हुन्छ ?

उत्तर: बगैंचा डट् कम मार्फत संसारभरका मेरो श्रोताहरूबाट म राम्रा-राम्रा सल्लाह र सुझावको आशा राख्दछु । अनि हामी संसारको जुनसुकै ठाउँमा भए पनि नेपाली संस्कृति खुट्याएर त्यसैमा बाँचौँ र बाँचिरहौं ।


Views : 2649 | Date : 2011-07-28

Comments so far

* No comments so far

Leave Your Comment



Please enter the string shown.
Search Interview
Recent Comments
Sabina Lama
Raju Lama has always been my favourite.. thanks for this interview
bhim limbu
i was so glad to Bagaicha models and music, because i m interesting this site,
priyanka
vishu will u be my valentine?????
Ankita Mangla
Its been alwz fun to have sushant around. Congrats dear....proud of u... n all the best. M sure u gonna rock. Cheers... !!!