ग्लोबल भिलेज भनेको नवसाम्राज्यवादको अनदेखा रूप हो - Hangyug Agyat

Hangyug Agyat
(हाङयुग अज्ञात, साहित्यमा सृजनशील अराजकता आन्दोलनका प्रवर्तक । एक दशकदेखि कथित मूलधारको नेपाली साहित्यमा नायकत्वको प्रश्नलाई उठाइरहेका छन् उनी । सांस्कृतिक वैविध्यता, नश्लीय बोध, वैचारिक अनेकानेकलगायतका मुद्दालाई लिएर आदिवासी जनजाति साहित्य सौन्दर्यशास्त्र निर्माणमा लागिरहेका छन् उनी । रङ्गीन आविष्कार, ढुङ्गामुढाको मन, करङको हिरासत, ककपिकलगायतका कविताकृतिका सर्जक उनी यूवापूस्तामा बौद्घकि र प्रयोगपरक कविका रूपमा स्थापित छन् । अखबारी लेखन, तार्किकता, दर्शनमन्थन र शैलिगत नविनताले नेपाली साहित्यमा मैहुँ भन्नेहरूलाई थला पार्ने उनी केही वर्षदेखि हङकङ र नेपाल, दुई मुलुकमा 'सृजनशील अराजक' कुहिना धसेर साहित्य सृजनामा अभ्यस्त छन् । प्रस्तुत छ उनै अज्ञातसँग स्व. स्वप्नील स्मृतिले लिएको साइबर-संवाद)

(हाङयुग अज्ञात, साहित्यमा सृजनशील अराजकता आन्दोलनका प्रवर्तक । एक दशकदेखि कथित मूलधारको नेपाली साहित्यमा नायकत्वको प्रश्नलाई उठाइरहेका छन् उनी । सांस्कृतिक वैविध्यता, नश्लीय बोध, वैचारिक अनेकानेकलगायतका मुद्दालाई लिएर आदिवासी जनजाति साहित्य सौन्दर्यशास्त्र निर्माणमा लागिरहेका छन् उनी । रङ्गीन आविष्कार, ढुङ्गामुढाको मन, करङको हिरासत, ककपिकलगायतका कविताकृतिका सर्जक उनी यूवापूस्तामा बौद्घकि र प्रयोगपरक कविका रूपमा स्थापित छन् । अखबारी लेखन, तार्किकता, दर्शनमन्थन र शैलिगत नविनताले नेपाली साहित्यमा मैहुँ भन्नेहरूलाई थला पार्ने उनी केही वर्षदेखि हङकङ र नेपाल, दुई मुलुकमा 'सृजनशील अराजक' कुहिना धसेर साहित्य सृजनामा अभ्यस्त छन् । प्रस्तुत छ उनै अज्ञातसँग स्व. स्वप्नील स्मृतिले लिएको साइबर-संवाद)

. हङकङमा नेपाली साहित्यको अवस्था कस्तो छ ? कहिलेदेखि नेपाली साहित्य लेखिन थालेको हो ?
मैले भर्खरै हङकङ टेकेको बेलाको साहित्यभन्दा अहिलेको साहित्यको अवस्था अत्यन्तै उत्पादनशील, विकासशील र सृजनशील छ । उत्पादनशील के मानेमा भने हिजोआज हङकङमा आयोजना हुने साँस्कृतिक कार्यक्रमहरूमा कविता वाचन गरेबापत कविहरूलाई पारिश्रमिक दिन थालिएको छ । भोजपुर साँझ र मुलबाटो नाइटमा कविता वाचन गरेर प्राप्त रकमले तीनबोरा चामल किनेँ । कविताले खाएको भात मीठो हुँदोरहेछ । यसरी हङकङमा कविता या साहित्यलाई उत्पादनशील बनाउने भूमिका निर्वाह गर्ने बसन्त निरौलाजी र भोगन एक्लेजीलाई धन्यवाद भन्छु । हङकङका साहित्यकारहरू नयाँ कुराको खोजीमा छन् । लेखन शैली र शिल्पको विकासमा दत्तचित्त छन् । वैचारिकताको विकासमा खटिरहेका छन् । तेसकारण यहाँको साहित्य विकासशील र सृजनशील पनि छ । हङकङमा सत्तरीको दशकतिर लाहुरेहरूले \'पर्वते\' पत्रिकाबाट साहित्य लेख्न सुरू गरेको तथ्य पाइन्छ । पछि आइडि कार्डले हज्जारौं नेपालीहरूलाई हङकङ हुलेपछि सन् १९९८ देखि अलि व्यापक रूपमा नेपाली साहित्य लेखिन थालिएको पाइन्छ ।

. नेपालमा रहँदै स्थापित कवि हुनुहुन्थ्यो तपाइँ, हङकङ पुगेर अहिले त्यहाँको साहित्य लेखनको नेतृत्व गरिरहनु भएको छ, लेखकको नाताले हङकङमा बसेर लेख्दा र नेपालमा बसेर लेख्दाको विशिष्ट अनुभव के छ तपाइँमा ?
नेपालबाट हङकङ पुग्नु भनेको मनोवैज्ञानिक पर्यावरण र सामाजिकसाँस्कृतिक अवस्थितिको पनि परिवर्तन हुनु रहेछ । यस्तो परिवर्तनले मानिसलाई डाँडाकाँडा चरिहिँड्ने खसिबोकालाई काठमान्डूको खसिबजारमा ल्याएर बाँधेजस्तैको स्थितिमा पुर्याउँदो रहेछ । त्यो नौलो पर्यावरण र समाजलाई बिस्तारै पचाउँदै गएपछि भने हामी खसिबोका नभएर निश्चय नै मानिस भएकोले नयाँ संसारको नयाँ कुरा उत्खनन् गर्ने जिज्ञासा बढ्दो रहेछ । नेपालमा हुँदा अलि आक्रमक भएर कविता लेखेछु । त्यो नेपाली सामाजिकआर्थिक र अन्य कति अव्यवस्थित पर्यावरणहरूले मगजलाई दिएको प्रभाव मान्छु भने हङकङ आएर यतैको नेपाली समाजसित बाँच्नु पर्ने भएकोले अलि विनम्र कविताहरू मबाट लेखिएका छन् । साहित्य पर्यावरणले पनि प्रभावित हुँदोरहेछ भन्ने अनुभव नै मेरो तत्कालको बुझाइ हो । सायद तेही भएर होला, नेपालमै पनि कोही तल चितवनको जङ्गलमा गएर कविता लेख्छन्, कोही नगरकोट र धुलिखेलतिर गएर लेख्छन्, कोही गुफाभित्र बसेर कविता लेख्छन्, कोही सडकमा कविता लेख्छन्, कोही बजारमा कविता लेख्छन् । साहित्यमा यो पर्यावरण पनि महत्वपूर्ण हुँदोरहेछ । नेपालमा मलाई लिम्बूवानमा गएर कविता लेख्ने झोंक पलाएको छ । तर अहिले हङकङमा छु मनमा एककिसिमको हुट्हुटी छ ।

. नेपालमा नश्लीय सचेतनामा लेख्नु भयो, तर हङकङ पुगेपछि तपाइँका केही पछिल्ला कविताले चिनियाँ कवि, मिथक, सास्कृतिलाई उत्खनन् गरेको छ, यी कविता पनि सृजनशील अराजक-आग्रहकै कविता हुन् या अन्य ?
निश्चय नै मेरा पछिल्ला कविताहरूले चिनियाँ कवि, मिथक र सास्कृतिका प्रभावहरू बोकेका छन् । यद्दपि, ती सृजनशील अराजकताकै आग्रहबाट उठेका छन् । जस्तो \'तु फू माःजङ खेलिरहेको छ\' कवितामा तु फू चिनियाँ कवि हुन् र माःजङ चिनियाँ खेल हो । तर त्यो कविताको सारले हङकङका आदिबासी चिनियाँहरूलाई कसरी पुँजीवादी र उपभोक्तावादी सास्कृतिले आफ्नै थात्थलोबाट विस्थापित गर्दै लगेको छ र उनीहरूलाई एशियाको विश्व सहर हङकङले कसरी समूल नष्ट गर्दैछ भन्ने यथार्थ बोकेको छ । सृजनशील अराजकताको आग्रहले पिछडिएका वर्गको वकालत गर्ने भएकोले किनारिएका आदिबासी चिनियाँहरूलाई मैले आफ्नो कवितामा लेख्ने प्रयत्न गरिरहेको छु । मिथकहरूको मद्दतबाट कुनै सभ्रान्त या बुर्जुवापनको पक्षपोषण नगरेर कसरी साँस्कृतिक या नश्लीय चेतका रूपमा प्रयोग र व्याख्या गर्न सकिन्छ भन्ने हिजोकै प्रतिबद्घताले मानव सभ्यताले निर्माण गरेका मिथकहरूलाई पनि मैले आफ्ना कवितामा महत्व दिने गरेको छु । चिनियाँ मिथकहरूको आफ्नै संसार छ । तेसको उत्खनन्ले नेपाली साहित्य नै समृद्घ हुन्छ होला । हामीले वणारसबाट आएका मिथकहरूलाई जति सजिलै आत्मसात् गछौ र चीनबाट आएका मिथकहरूलाई पनि स्वीकार गर्न सक्नुपर्छ ।

 . तीन तले घरमा हुर्किएको कवि, नौ तले बसन्तपुर दरबार र धरहरासम्म देखेको काठमाडौंको सृजनशील लेखकले हङकङको दुइसय तले अग्लो व्यापारिक घरलाई लेख्नुपर्दा कसरी लेख्छ ?
पहिलो कुरा त म तीन तले घरमा हुर्किएको कवि होइन, जन्मिएको पनि तीन तलेमा होइन । इलामको सरकारी अस्पतालमा सर्वसामान्य नागरिकजस्तै जन्मेको हुँ र सर्वसामान्य नागरिकजस्तै उसिना चामल खाएर होस्टेल अथवा कम्युनमा हुर्किएको हुँ । अँ, बसन्तपुर दरबार र धरहरा चाहिँ देखेकै हुँ र दरबारतिर ढुङ्गा पनि हानेकै हुँ । अब हङकङको जुन गगनचुम्बी भवनहरू छन् पहिलोचोटि देख्दा ओहो ! विकास भनेको यस्तो पो त जस्तो लाग्थ्यो । तर यस्ता भवनहरूलाई छाम्दै जाँदा मैले तिहाँ धेरै गरिब मुलुकहरूको घाउ पाएँ । अचेल हङकङको भौतिक विकासमा म कहीँ न कहीँ शोषण देखिरहेको छु । नवसाम्राज्यवादले रूप छलेर यता एशियातिर आएर हाम्रो खुन र पसिना चुसिरहेको छ । म यौटा सामान्य कविले योभन्दा धेरै के लेख्न सक्छु ?

 . हङकङको भूमिगत रेलमार्गमा कुदिरहँदा \'म नेपाली\' कुदिरहेको छु हङकङमा जस्तो लाग्छ कि काठमान्डौको न्यूरोडमा कुद्दाखेरिको याङनामको थाम्सुहाङ लिम्बू कुदिरहेको छु जस्तै लाग्छ । आफूलाई बुझ्ने अनुभूत गर्ने सवालमा हङकङको परिवेशमा पुगेपछि फरकता आयो, आएन ?
काठमान्डौंको न्यूरोडमा कुदेको भए पो त्यो बिम्ब आउँछ । अँ, बरू एकचोटि सुनधाराबाट खिचापोखरी न्यूरोडको चेपैचेप जनजाति महासंघको आन्दोलनमा वैरागी काइँला, सुवास नेम्बाङ, ओम गुरूङ, पध्मरत्न तुलाधर र तपाइँसितै हिँडेको थिएँ, त्यो चाहिँ बेलामौका सम्झना आउँछ । कहिलेकाहीँ म नेपाली कुदिरहेको छु भन्ने पनि लाग्छ । तर, भूमिगत रेलमा तेसरी घाम नउदाउँदै हिँड्नुपर्दा र घाम डुबिसकेपछि अबेर राति घर फिर्नु पर्दा बारम्बार सम्झना हुने भनेको म्याक्सिम गोर्कीको 'आमा' उपन्यास हो । त्यो उपन्यासमा कारखानामा साइरन बज्छ, मजदुरहरू त्यो सुनेर कामतिर लाग्छन् । हङकङमा साइरन बजाएर मजदुरहरूलाई काममा लादैनन् । तर, मजदुरहरूको कोठाकोठामा घडिको अर्लाम बज्छ जसले उनीहरूलाई कामतिर लैजान्छ । भूमिगत रेल पनि मलाई रेलजस्तो लाग्दैन, कामदारहरू ओसारपसार गर्ने टिनको डिब्बाजस्तो लाग्छ जसको चाबी यहाँका पुँजीपतिहरूको हातमा छ । नेपाल हुँदा तपाइँजस्तै दोश्रो दर्जाको नागरिक थिएँ हङकङ आएर तेश्रो दर्जामा झरेको छु ।

. हङकङ जानअघि नेपाली साहित्यको कथित मूलधारलाई सृजनशील अराजकताको क्षेप्यास्त्रले प्रहार गरिरहनु भयो, अन्ततः हङकङ उडेर पनि त्यही गरिरहनु भएको छ । कथित मूलधारको साहित्यसँग तपाइँको विमति कहिलेसम्म हो ? कुन कुरामा हो ?
नेपाली साहित्यको कथित मूलधारले नेपाली समाजको जातीय, वर्गीय र लैङ्गीक विभेदहरूलाई सधैँ नै उपेक्षा गरिआएको स्थितिमा सृजनशील अराजकताले यी विभेदहरूको अन्त्यका लागि लेखकस्रष्टाहरूले आन्दोलन गर्नुपर्दछ भन्ने आग्रहलाई अग्रस्थानमा राख्दै ब्राम्हणवादी अहङ्कारले युक्त नेपाली साहित्यलाई मूलधार मानेन । साँच्चिकै नेपाली साहित्यको मूलधारका निम्ति समावेशी नेपाली साहित्यको आवाज उठाउँदै हामीले वैचारिक अनेकानेक र साँस्कृतिक वैविध्यका अवधारणाहरू विकसित गर्यौं । हिजोको दाँजोमा आज नेपाली साहित्यमा राज्य संयन्त्रद्वारा उपेक्षित तथा उत्पीडित जाति, वर्ग र लिङ्गको आवाज घन्किन थालेको छ । सबाल्टर्न वर्गले आफूलाई खोज्न थालेको छ साहित्यमार्फत् । अहिले हाम्रो आन्दोलन चरम उत्कर्षमा छ । राज्यव्यवस्थाले नेपाली साहित्यको मोडलको रूपमा हामीले भनेजस्तै समावेशी नेपाली साहित्यलाई त्रिविवि र प्रज्ञाप्रतिष्ठानमा लैजान्छ भने हाम्रा विमतिहरूको अन्त्य हुनेछ । लिम्बूवान प्रान्तका नेपाली नागरिकलाई जबरजस्ती माधव घिमिरेहरूका छन्दहरू घोकाएर राष्ट्रको बौद्घकिवर्गको विकास हुनेवाला छैन । चाँदनी शाहहरूका कविताहरू खम्बुवान प्रान्तका नेपाली नागरिकहरूलाई लादेर राष्ट्रियता बलियो हुनेवाला छैन । मेरो बाजेले पनि भानुभक्तको रामायण पढ्यो, मेरो बुबाले पनि पढ्यो, मैले पनि पढेँ । के माधव घिमिरेहरूले हाम्रो मुन्धुम पढेको छ ? के हाम्रो संस्कारहरू उनीहरूले अनुकरण गरेका छन् ? हाम्रा छोरीचेलीहरू तीजमा रातो साडी र हरियो पोतेमा छम्छम्ती नाचिदिएका छन् । के तथाकथित शासकवर्गका छोरीचेलीहरू साकेला र धान नाच्न हामीसित टुाडिखेलमा आएका छन् ? शासकहरूले आफ्नो धर्म र संस्कार हामीमाथि लाद्ने र हाम्रो धर्म र संस्कारलाई वास्ता नगर्ने ? रेडियो नेपालमा रामकृष्ण ढकाल र यम बरालको मात्रै गीत बजाउने ? कुवेर राईको गीत खोई ? भगत सुब्बाको गीत खोई ? नेपालका पत्रपत्रिकाहरूले आदिबासीजनजाति, दलित र दमितहरूको असल कुरा छाप्दैछाप्दैनन् नराम्रो कुरा पायो भने भागेरे अक्षरमा छापेर हाम्रो समुदायको मनोविज्ञानलाई विक्षिप्त बनाउने काम गर्छन् । अब नयाँ संविधान कस्ता लेख्दारहेछन्, तेसबाट पनि सृजनशील अराजकताको रणनीति र कार्यनीतिमा फेरबदल हुनेछ ।

 . हङकङबाट लेखिने साहित्यको विशिष्टता, बेगलपन, नेपाली साहित्यमा खोज्नुपर्दा कहाँनेर हो ? अथवा हङकङे नेपाली साहित्यको वैचारिकता के हो ?
साँस्कृतिक चेत हाम्रो प्रमुख वैचारिकता हो । तेसको अलावा चिनियाँ प्रभावहरूले निर्मित छुट्टै स्वादको साहित्य भोलिका दिनमा नेपाली साहित्यको लागि महत्वपूर्ण हुनेछ । भारतसित नेपालको कुटनीतिक सम्बन्ध सुमधुर हुनुको पछाडि नेपाली साहित्य तथा कलामा भारतीय प्रभाव भएर पनि हो । हङकङका स्रष्टाहरूले साहित्य तथा कलामा चिनियाँ समाज र सभ्यतालाई लेखे पछि निश्चित रूपमा चिनसित आजको भन्दा अझ गाढा सम्बन्धले हामी बाँधिनेछौं । हामी जसरी हिन्दीभाषा फरर बोल्नसक्छौं, चिनियाँ भाषा पनि बोल्नसक्नु पर्छ । छिमेकीहरूको भाषा जान्नुपर्दछ र पो उनीहरूले आफ्नो देशको निर्माण कसरी गरेका रहेछन् थाहा लाग्छ । होइन हिजोकै राष्ट्रवादलाई मान्ने हो भने त भारतीय फिल्म, सङ्गीत, साहित्य नेपालमा तुरून्त रोक्नु पर्दछ । नेपालका सत्यहाङ्मा र योगमायाको विषयमा नेपालीहरूलाई थाहा छैन तर साइबाबा बच्चाबच्चालाई थाहा छ । किन ? ज्ञानको वितरण किन सन्तुलित रूपमा भइरहेको छैन ? यसको उत्तर सप्पैलाई थाहा छ । ज्ञानको वितरणलाई सन्तुलित गर्ने कर्तव्य शासकहरूकै हो । शासनसत्तामा हामी पनि पुग्नुपर्दछ र हामी समावेशी रूपले ज्ञानको, सूचनाको, विकासको, प्रगतिको, अधिकारको वितरण गर्नेछौं । तेसो भएन भने खप्तड स्वामीभन्दा रामदेव नै प्रभावकारी भइरहनेछ । चतराभन्दा वणारस नै ध्यानी बनिरहनेछ । तेसो र पनि हङकङबाट हामीले चिनियाँ दर्शन र चिन्तनलाई नेपाल लगेर सम्पूर्ण नेपालीहरूलाई ज्ञानको अर्को क्षितिज देखाउने प्रयत्नमा छौं । सत्यहाङ्मा र सिरिजङ्गाहरूको दर्शन र चिन्तनलाई पनि उच्च बनाउने कार्य हामीबाट भइरहेकै छन् ।

. हङकङलगायत नेपालबाहिरबाट लेखिदैं आएको नेपाली साहित्यलाई डायोस्पोरिक साहित्य भन्न थालिएको छ, यो कतिको सही छ ?
ग्लोबल भिलेज हुन लागेको छ विश्व, एउटा व्यवसायिक लेखक एक हप्तामा कम्तिमा १० वटा देशका आफ्ना पाठकसँग अन्तरक्रिया गरिरहेको हुन्छ र लेखिरहेको हुन्छ । सिमाना, राष्ट्रियता र जराले लेखकलाई बाँधिरहनु त्यो लेखककै मनोदशा मात्र होइन र ?
त्रिविविका केही प्राध्यापकहरूले हचुवाका भरमा हामीलाई डायोस्पोरिक साहित्यकार भनेर हुन्छ ? डायोस्पोराको मर्म के हो ? के तिनीहरूले मलाई कन्भिन्स गर्न सक्छन् ? कुनै विषयवस्तुको गहिराइसम्म पुग्दैनपुगी हावाको तालमा डायोस्पोराले हङकङका नेपाली साहित्यकारहरूलाई टाढा बनाउने प्रयत्न गरिरहेका छन् । तिनीहरूलाई भनिदिनुस् आफ्नो देश छोडेर केही वर्ष रोजगारी र अध्ययनमा गएका नेपालीहरू डायोस्पोरिक हुने भए नेपालका सिडियो, अधिकांश कर्मचारीहरू पनि डायोस्पोरिक हुन् । डडेलधुराको क्षेत्री सिडियोको जागिर खान आउँछ पान्थर लिम्बुवानमा भने उसले पनि त केही वर्षका लागि आफ्नो थात्थलो छाड्यो । अब त्यो डडेलधुराको सिडियोले पान्थरमा लेखेको साहित्यलाई आन्तरिक डायोस्पोराका नाममा व्याख्या गरे भो नि । लिम्बुवानका गोविन्दराज भट्टराईले नेवाः राज्यमा आएर साहित्य लेखिरहेको छ अब उसकै परिभाषा अन्तर्गत ऊ पनि डायोस्पोरिक भयो । मैले अस्ति अन्तरक्रियामा पनि भने यहुदीहरू विविध कारणहरूले जो विश्वभरि छरिएका छन् उनीहरूको स्थितिलाई डायोस्पोरा भनेर अध्ययन शुरू गरियो । जसअनुसार अफ्रिकनअमेरिकन र भारतीयहरूको डायोस्पोरिक अस्तित्व छ । यदी नेपाली डायोस्पोरा छ भने भारत र वर्मातिर छ । अब बेलायतमा पनि कालान्तरमा नेपाली डायोस्पोरा बन्नेछ । भोलि हङकङमा पनि नेपाली डायोस्पोरा बन्ला, त्यो अगल कुरा हो । साँच्चै भन्ने हो भने नेपालका बाहुनहरूलाई काशीबाट आएको भन्ने इतिहास र वंशावलीले बताउने गरेको छ, यसअर्थमा त कृष्ण धाराबासीहरू डायोस्पोरिक भए कि क्या हो ? अब जबरजस्ती खाडी मुलुकमा रोजगारीका लागि गएका नेपालीहरूलाई ल तिमीहरू आजदेखि नेपाली डायोस्पोरा भयौ भन्छन् भने उनीहरूलाई स-सम्मान माझी औंला उठाउनु बाहेक केही गर्न सकिदैन । ग्लोबल भिलेज भनेको नवसाम्राज्यवादको अनदेखा रूप हो । यसलाई म विश्वास गर्दिनँ । जुन दिन हाम्रो गुन्द्रकसिन्की र ढिँडोले विश्वका प्रख्यात सहरहरूका फाइब स्टार होटेलहरूको मेनुमा प्रवेश पाउनेछ, जुन दिन विश्वको फेसन जगतमा दाउरा सुरूवाल र भादगाउँले टोपीले हिँड्न पाउनेछ त्यो दिन ग्लोबल भिलेजको सिद्घान्तलाई विश्वास गरूँला । सिमाना, राष्ट्रियता र जरा मास्नु भनेको राजनीतिक रूपले हामी अराजकतावादी हुनु हो । कम्युनिष्ट हुनु हो, साम्यवादी हुनु हो । अन्तर्राष्टिय जातिको नारा प्रिमिटिभ कम्युनिज्मले लगाउने गर्दछ । जेनेटिक रूपमा नै मान्छेका चरित्रहरू फरकफरक हुन्छ भने मान्छेहरूलाई कम्युनमा राखेर रोबोट पनि त बनाउनु हुँदैन । हो, कम्युनमा राखेपछि मान्छेहरूमाथि शासन गर्न सजिलो होला तर मान्छे स्वतन्त्रता रूचाउने जाति भएकोले र विविधतामा रमाउने भएकोले त्यो कम्युनको सिद्घान्त पनि त फेल भइसकेको छ । सिमाना, राष्ट्रियता र जरा मास्नु हुँदैन भन्ने पक्षमा म छु । ग्लोबल भिलेजको सिद्घान्त अमेरिकी साम्राज्यवादले गर्यो, उसले मात्रै आफ्नो सास्कृति र सभ्यताहरू बेचिरहेको छ । ग्लोबल भिलेज पनि एककिसिमको कम्युन नै हो । कम्युनिज्मलाई नयाँ ढङ्गबाट विकास गर्नु पर्दछ हामीले । कम्युनिज्मका धेरै मोडेलहरू छन्, सायद नेपालमा भर्खरै प्रचण्डपथले आविष्कार गरेको 'संघीय लोकतान्त्रिक गणतन्त्र'लाई नै कम्युनिज्मको नयाँ मोडेल मानेर अगाडि बढ्दा राम्रो होला । के अमेरिका आफ्नो सिमाना, राष्ट्रियता र जरा मास्न तयार छ ? बेलायत आफ्नो सिमाना, राष्ट्रियता र जरा मास्न तयार छ ? सोच्ने कुरा हुन् ।


Views : 2387 | Date : 0000-00-00

Comments so far

* No comments so far

Leave Your Comment



Please enter the string shown.
Search Interview
Recent Comments
Sabina Lama
Raju Lama has always been my favourite.. thanks for this interview
bhim limbu
i was so glad to Bagaicha models and music, because i m interesting this site,
priyanka
vishu will u be my valentine?????
Ankita Mangla
Its been alwz fun to have sushant around. Congrats dear....proud of u... n all the best. M sure u gonna rock. Cheers... !!!