पहिलो कुरा, म साहित्यलाई खेती मान्दिनँ । साहित्यको सम्बन्ध मनसित, मस्तिष्कसित हुन्छ । साहित्य ज्ञानसित हुन्छ । - Hangyug Agyat

Hangyug Agyat
मेची अञ्चल इलाम जिल्ला अन्तर्गत इलाम नगरपालिका वडा नं. १ मा २०३३ साल पौष १ गते जन्म लिनुभएका सिर्जनशील अराजक कवि हाङयुग अज्ञातले कलामा स्नातक सम्म अध्यायन पुरा गर्नुभएको छ । वहाँ सिर्जनशील अराजक साहित्यका प्रवर्तक मध्ये एक हुन् । रङ्गीन आविष्कार - २०५७,ढुङ्गामुढाको मन - २०५८,करङको हिरासत - २०६०,ककपिक - २०६१ आदि उनका कविताकृतिहरु प्रकाशन भैसकेकाछन् । साहित्य समन्वयको सम्पादन साथै हङकङको आगमन पछि सिर्जनशील साहित्य समाज हङकङको अध्यक्षको पदमा रहि साहित्य सेवामा अनवरत लागि पर्नु भएको छ । नेपाली आदिवासी जनजातीहरुको भाषा साहित्यलाई नेपाली साहित्यको मुलधारको रुपमा हुनुपर्छ र हो भन्ने वहाँको मान्यता रहदै आएको छ । नश्लवोधिय लेखनलाई सिर्जनशील अराजक समूहले मुख्य नाराको रुपमा लिदै लेखन क्षेत्रमा नौलो साहित्यको पाटालाई जनमानसमा प्रस्तुत गर्न सक्षम भैरहेको छ । उनै साहित्यका सर्जक कवि हाङयुग अज्ञातसंग लिम्वुवान डट ब्लगस्पोट डटकमका ब्लगर टंक सम्वाहाम्फेले गर्नुभएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।

१. हङकङको व्यस्त समयसँग साहित्य लेखनको तालमेल कसरी मिलाइरहनु भएको छ ? , हाल हङकङमा समय कसरी बिताइरहनु भएको छ ?
हङकङ आउनु दुइदिन अगाडि नेपालका वरिष्ठ कवि तथा गीतकार इश्वरवल्लभज्यूले म हङकङ जाँदैछु भन्ने थाहा पाएर मलाई केही अर्तिउपदेश दिनुभएको थियो । चीनको औपचारिक भ्रमणमा गएको बेला उहाँ हङकङ पनि निस्किनु भएको रहेछ । पहिलो कुरा उहाँले हङकङको समय घोडाजस्तो दौडिन्छ तेसैले यो समयसित तालमा ताल मिलाउन सकिएन भने पछाडि परिन्छ भन्नु भएको थियो । र, दोश्रो कुरा समुन्द्र सधैँ मुख आँ गरेर बसेको हुन्छ तेसले निल्नसक्छ, कहिलेकाहीँ तमोर र अरूणलाई पनि सम्झीनू भन्नु भएको थियो ।इश्वरवल्लभका यी दुइ वचनले मलाई हङकङको व्यस्त समयसँग लाप्पा खेल्ने आँट दिएको हो । भर्खर इश्वरवल्लभ पनि बितेछन् नेपालमा । व्यस्त समयसँग साहित्य लेखनको तालमेल मिलाउन गारो हुन्छ । तथापि, मैले उता नेपालका प्रख्यात कविलेखकहरूले व्यस्त समयसित साहित्य लेखनको तालमेल मिलाएको देखेर आएकोले यहाँ मलाई तेत्ति गारो परेन । नेपालमा व्यस्त समयसित तालमेल मिलाउनेमा विष्णुविभु घिमिरे, दिनेश अधिकारी, कृष्ण धराबासी, खगेन्द्र सङ्ग्रौला, गोविन्दराज भट्टराई प्रख्यात छन् । मलाई यतिबेला के लागिरहेको छ भने साहित्य लेखनका लागि थोरै समय पनि पर्याप्त हुन्छ । सप्पैभन्दा महत्वपूर्ण कुरा के हो भने जस्तोसुकै प्रतिकूल अवस्थामा पनि साहित्यप्रति बलियो विश्वास हुनुपर्छ । म २४ घण्टामा पाँच घण्टा सुत्छु । सुतेको बेला सपना देखेँ भने पनि म तेसलाई साहित्यको आँखाले विचारविमर्श गर्छु जागेको १९ घण्टा त म साहित्यकै विषयमा साहित्यकै वरिपरि चिन्तन गरेर बिताउँछु । यो चौबिसै घण्टा साहित्यको संसारमा खेल्ने मेरो व्यक्तित्व यौटा भो भने अर्को व्यक्तित्व छ जो सधैँ व्यवहारिक छ । त्यो व्यक्तित्व अन्य र्सवसामान्य मान्छेजस्तो काममा जाने, कोठा फर्किने, भात पकाउने खाने र सुत्ने गर्दछ । यो दुइ बेगलबेगल व्यक्तित्वहरूको तालमेल मिलाउनुका लागि लामो समयको स्थिर साधना चाहिन्छ । यी दुइ व्यक्तित्वहरूको तालमेल मिलेन भने कि त आफ्नो संसारिक जीवन चौपट हुन्छ कि त लेखन जगतमा विपद आइलाग्छ । छोटकरीमा भन्नुपर्दा हङकङको व्यस्त समय र साहित्य लेखनलाई सृजनात्मक सोच र शैलीले भरसक तालमेलको दायराभित्र ल्याउने प्रयत्न गरिरहेको छु । र, हङकङको समय पनि यीनै यस्तै कुराहरूमा बितिरहेको छ ।

२. सृजनशील अराजक समूहको कहिले स्थापना भएको हो ? यसका प्रमुख उद्देश्यहरू के के हुन् ? हाल यो समूहको गतिविधि कसरी सञ्चालन भइरहेको छ ?
सृजनशील अराजक समूह नामको कुनै सङ्गठन छैन । हामीले वि.सं. २०५२ सालदेखि नेपाली साहित्यमा यौटा सँस्कृति, यौटा धर्म, यौटा सौर्न्दर्यचेत, यौटा पक्ष, यौटा स्वभाव मात्रै हाबी भयो तेसकारण नेपाली साहित्यको विकास सोलोडोलो रूपमा भइरहेको छैन भन्न थालेका हौं । पछि २०५७ सालमा चाहिँ म र राजन मुकारूङ मिलेर नेपाली साहित्यमा 'सृजनशील अराजकताको आग्रहसम्मत्मा पाँचवटा कुराहरू प्रक्षेपण गर्‍यौं,
१) वैचारिक अनेकानेक
२) साँस्कृतिक वैविध्य
३) नश्लीयबोध
४) कवित्व निस्सीमता
५) र, सृजनात्मक निर्णय।

यसको उद्देश्य भनेको तथाकथित् नेपाली साहित्यलाई साँच्चिकै नेपाली साहित्य बनाउनु रहेको थियो र यो आठ-नौ वर्षो अवधिमा तथाकथित् नेपाली साहित्यको परम्परागत धारणाहरू भत्किदैं नयाँ मान्यताहरू स्थापना हुँदैछन् । आदिबासीजनजातिले साहित्य लेख्न सक्दैनन् या उनीहरूले लेखेको साहित्य साहित्य होइन भन्ने ब्राम्हणवादी पुरेत वर्गका लेखकहरूको अहङ्कारलाई धेरै हदसम्म सृजनशील अराजकताको आग्रहले ध्वस्त पार्ने काम गरेको छ । नेपाली समाजजस्तै नेपाली साहित्य पनि विविधताको योग हो भन्ने मान्यता एकप्रकारले नेपाली साहित्यकार र प्राज्ञहरूमा स्थापित भइसकेको छ । अब यसलाई राज्यसत्ताले स्वीकार्न बाँकी छ । राज्यसत्ताले स्वीकार गरेपछि नेपाली साहित्य धेरैधेरै सँस्कृति, धेरैधेरै जाति, धेरैधेरै वर्ग र लिङ्गको साझा थलो हुनेछ । संविधानसभाको निर्वाचनको नतिजाले देखाएको प्रष्ट कुरा भनेको नेपालीहरूको विविध अस्तित्वलाई जसले सम्मान गर्छ उसैलाई आमजनताले स्वीकार गर्छ भन्ने हो । सृजनशील अराजकताले आग्रह गरेको नेपाली साहित्यको मोडेल र प्रचण्डपथले अग्रसर गराएको नयाँ नेपालको संघात्मक राज्यप्रणालीको बनोट झन्डै मिल्दोरहेछ । हाम्रा गतिविधिहरूको सवालमा चाहिँ कवि राजन मुकारूङ हाम्रा विचारहरूलाई मूर्त रूप दिन प्रत्यक्ष आमजनतामा पुगेर चेतना फैलाइरहनु भएको छ भने कवि उपेन्द्र सुब्बा केन्द्रमा बसेर केन्द्रलाई धक्का पुर्‍याउने काम गरिरहनु भएको छ । म भने हङकङबाट अन्तरराष्ट्रिय विचारपद्घतिको अध्ययन तथा अवलोकन गर्दै यहाँका कविहरूलाई प्रोत्साहित गर्ने काममा संलग्न छु । उता पान्थरमा सृजनशील उत्तरवर्तीहरू पनि खटिरहनु भएको छ । काठमान्डौमा रङ्गवादीहरूले अत्यन्तै त्रि्र रूपमा सृजनशील अराजकताको गतिविधिलाई बढाइरहेका छन् । यहाँ हङकङमै पनि भयवादका नाममा देश सुब्बाले आदिबासीहरूको सँस्कृति र परम्परा खोजिरहनु भएको छ । मुक्त अभियान पनि दमकबाट सञ्चालित छ । यी सप्पैलाई मैले सृजनशील अराजकताका गतिविधिहरूको रूपमा बुझेको छु ।

३.तपाइँहरूले लेख्ने साहित्यले कुन वर्गसमाज र कस्तो खाले लेखनको प्रवृत्तिलाई बढी मुखरित गर्दछ ? हालसम्म सृजनशील अराजक लेखनले समाजमा कति प्रभाव पारे जस्तो लाग्छ ?
हामीले प्रस्ताव गरेको साहित्यले छुने वर्ग भनेको उत्पीडित, उपेक्षित, आदिबासीजनजाति, मधेसी र दलितदमित वर्गसमाज हो । तेसो त हिजोका प्रगतिशील भनाउँदाहरूले पनि यही भन्थे तर उनीहरूले नारा मात्रै दिएका रहेछन् । मोदनाथ प्रश्रतिको कुरा हेरौं, ऊ आफूलाई नम्बर वन प्रगतिशील मान्छ, उत्पीडितउपेक्षित, आदिबासी तथा मधेसीको पक्षको लेखक हूँ भन्दै पञ्चायतकालभरि घुमिहिँड्यो तर हिजोआज उत्पीडिउपेक्षित वर्गलाई नै तथानाम् गाली गर्दै, दबाउँदै लेखिरहेको छ । त्यो प्रदीप नेपाल र खगेन्द्र सङ्ग्रौलाको पनि पारा उस्तै हो । डेमोक्र्याटिक लेखकहरूको सर्न्दर्भमा चाहिँ के छ भने उनीहरूले भरसक उत्पीडितउपेक्षितहरूको मुद्दालाई लेख्नै चाहदैनन्, लेखेको खण्डमा पनि भाग्यवादमा लगेर हुल्छन् । हिजोआज केही छन् यस्ता सुध्रिएका डेमोक्र्याट्सहरू, जस्तो गोविन्दराज भट्र्राई, कृष्ण धराबासी, सञ्जीव उप्रेती आदि । अब हाम्रो लेखन प्रवृत्ति भनेको चाहिँ तथाकथित् प्रगतिशील र डेमोक्र्याट्सहरूको भन्दा बेगल छ । यो प्रवृत्तिलाई चाहिँ मैले सृजनशील प्रवृत्ति भन्ने गरेको छु । यो प्रवृत्तिमा माथि नै मैले भनेँ जस्तो पाँचवटा सहमति बनाउनु अनिवार्य छ । पछि यो पाँचवटामा कसैले सृजनात्मक निर्णय गरेर केही थप्दै आउँछ भने पनि तेसलाई सृजनशील प्रवृत्ति मान्न सकिन्छ । जस्तो धर्मेन्द्रविक्रमहरूले रङ्गवाद भनेर थप्दै आए, देश सुब्बाले भयवाद भनेर थप्दै आए, भवानी तावाहरूले सृजनशील उत्तरवर्ती भनेर थप्दै आए । भोलि अरूहरू आउलान् नयाँ कुराहरू थप्दै जालान् । सृजनशील प्रवृत्तिको यो परिवर्तनशीलतालाई फोकस गर्दै कतिपय समिक्षकहरूले यो मार्क्सवादजस्तो रहेछ पनि भनेका छन् । कतिले त नन्कन्फर्मिस्ट पनि भनेका छन् । पछि समय आइपुगेपछि यो प्रवृत्तिको पुरै रूप देखिएला, अहिले विकासक्रममै छ । सृजनशील अराजकताको आग्रहले हाम्रो नेपाली समाजमा धेरै प्रभाव पारेको विश्लेषण गरिरहेको छु म । किनभने नेपाली साहित्यमा र्राई, लिम्बू, गुरूङ, मगर, तामाङ, सुनुवार, लगायत अन्य जनजाति समाजबाट विचार र सौन्दर्य भित्रिरहेको छ । नेपाली समाजमा वैचारिक अनेकानेक, साँस्कृतिक वैविध्यता र नश्लीयबोधले सुन्दर प्रभाव पारेको कारणले नै आमजनताले माओवादीलाई धेरै मतदान गरे । काङ्ग्रेस र एमालेको वैचारिक अनेकानेक, साँस्कृतिक वैविध्यता र नश्लीयबोधमा अस्पष्ट विचार भएकै कारणले आमजनताले सृजनात्मक निर्णय गर्दै उनीहरूलाई आफ्नो भारी मत दिएनन् । नेपाली समाजमा अब क्षेत्रीबाहुनले आदिबासीजनजातिहरूको अस्तित्व मान्ने, मधेसीहरूको अस्तित्व पहाडबासीहरूले मान्ने, पुरूषहरूले नारीहरूको अस्तित्व मान्ने संस्कारको विकास भइरहेको छ । सहअस्तित्वमा विश्वास गर्ने सृजनशीलहरूको यो सकारात्मक प्रभावलाई इतिहासले बिर्सिने छैन ।

४. तपाइँले नेपाली साहित्य प्रतिष्ठानको आठौं वाषिर्कोत्सवमा नयाँ लेखकको जन्मको घोषणा गर्नु भयो, त्यो कस्तो प्रकारको नयाँ लेखक होला ? को हो त्यो नयाँ लेखक र किन तपाइँले नै घोषणा गर्नु भयो ?
नयाँ लेखकको जन्म बारे कार्यपत्र प्रस्तुत गर्ने मञ्च र समय दिएकोमा नेपाली साहित्य प्रतिष्ठानको आठौं वाषिर्कोत्सवलाई र विषेशगरी कवि टङ्क सम्बाहाम्फेलाई धन्यवाद दिन चाहन्छु । उत्पीडित तथा उपेक्षित वर्ग, जाति र लिङ्गका मुद्दाहरूलाई जुन लेखकले आफ्नो लेखनमार्फत उठाएर न्यायका निम्ति पहल गर्दै नयाँ नेपाल निर्माणका लागि जनचेतनासित सहकार्य गर्दछ त्यस्तो लेखक नयाँ लेखक हो । नेपाली साहित्यमा यसरी योगदान पुर्‍याइरहेकाहरूलाई नयाँ लेखकका रूपमा पहिचान गरिकन नयाँ नेपालको राज्यसत्ताले उनीहरूबाट अरू धेरै सृजनशील साहित्यको अपेक्षा गर्दा हुन्छ । विषेशगरिकन यसप्रकारका लेखकहरू उत्पीडित तथा उपेक्षित वर्ग, जाति र लिङ्गबाट नै आइरहेका छन् । विश्वसाहित्य पढेका तथाकथित आभिजात्यवर्गका केही लेखकहरूमा पनि यो नयाँ लेखकको चरित्र पाइन्छ, यो निश्चय नै स्वागतयोग्य छ । आदिम विचारबाट मुक्ति प्राप्त गर्नु नै नयाँ लेखकको नयाँ र समयसापेक्ष यात्रामा अग्रसर हुनु हो, अग्रगामी लेखक हुनु हो । मैले नै किन नयाँ लेखकको घोषणा गरेँ भन्ने प्रश्न चाहिँ \'माओवादीले नै जनयुद्घ किन गर्‍यो -\' भने जस्तै हो । तर, यसलाई अर्को ढङ्गबाट बुझ्दा भने म राज्यसत्ताबाट उपेक्षित तथा उत्पीडित जातिबाट साहित्यमा आएकोले सायद मबाट नयाँ लेखकको घोषणा भएको होला । यो मनोविश्लेषणको कुरा भयो । यसैलाई दर्शनतिरबाट व्याख्या गर्दा यसरी पनि गर्न सकिन्छ- हरेक लेखक साधन हो र हरेक लेखकहरू फेरि बेगलबेगल थोकका लागि साधन हुन् । हरेक लेखकहरूको प्रयोजन भिन्दाभिन्दै हुन्छ । मेरो सवालमा भने म सधैँ नयाँ थोकहरू बोक्ने साधनका रूपमा उपस्थित भएँ । तेही भएर पनि नयाँ लेखकको अवधारणापत्र मैले लेखेँ । तर, यसलाई अझ आमजनमानससम्म पुर्‍याउनका लागि तपाइँहरूजस्तो सृजनशील लेखकहरूको खाँचो अनिवार्य छ । नयाँ लेखक साझा अवधारणा हो, हरेक नयाँ नेपाली लेखकहरूको सिङ्गो ठहर हो । तेसो र पनि यो नयाँ लेखकको अवधारणालाई हामीले गाउँगाउँसम्मका हाम्रा पाठक र स्रष्टाहरूसम्म पुर्‍याउनु जरूरी छ । किनभने नेपाली साहित्यमा हाम्फाल्नुभन्दा अगाडि सबैले यो नयाँ लेखकको अवधारणा थाहा पाउनै पर्छ । नयाँ लेखकको अध्ययन अवलोकनबिना हाम्रो मस्तिष्कमा छ्याप्प बसेको यथास्थिति र पुरातनवादको जालो हट्ने छैन । यो नयाँ लेखक तपाइँ हामी सबै हौं जसले पुरानो ब्राम्हणवादी अहंकारी साहित्यलाई ध्वस्त गर्दै समावेशी नेपाली साहित्यको पक्षमा लेख्छ । सबैसबै नेपाली समाजहरू, सँस्कृतिहरू, धर्महरू र जीवनहरू समेटिएको साहित्य मात्रै यथार्थमा नेपाली साहित्य हो भन्ने धारणा अनुसार अब हामीले लेख्नुपर्छ । अर्जुनदृष्टिका कविताहरू मात्रै होइन काङसोरे साहसका कविताहरू पनि लेखौं, नयाँ लेखकले यसो भन्छ । नयाँ लेखक नै वास्तवमा नयाँ नेपाली साहित्यको सुत्रधार हो, नयाँ नेपालको नयाँ लेखक हो ।

५.अधिकांश नेपाली साहित्यकारहरू साहित्यको खेती मात्र गर्छन् तर पैसाको खेती गर्न भने विदेशतिरै लाग्नु पर्ने बाध्यता छ । तपाइँ के भन्नु हुन्छ यस बारे किनकी तपाइँ आफै नै डायोस्पोराको साहित्यकार बनिसक्नु भएको छ ?
पहिलो कुरा, म साहित्यलाई खेती मान्दिनँ । साहित्यको सम्बन्ध मनसित, मस्तिष्कसित हुन्छ । साहित्य ज्ञानसित हुन्छ । साहित्य लेखेर विकसित मुलुकहरूमा लेखकहरू बाँच्न सक्छन्, त्यो अलग कुरा हो । पैसाको खेती गर्न विदेशतिर लाग्नुपर्ने बाध्यताको जो कुरा छ, तेसमा पनि म असहमत छु किनभने विदेशमा पनि पैसाको खेती हुँदैन, बाँच्ने मेलोसम्म गर्न सकिन्छ । हिजोआज म पनि तपाइँहरू जस्तै हङकङमा बसेको छु । श्रम बेच्छु खान्छु । दोश्रो कुरा के छ भन्देखिन् तपाइँको प्रश्नको मर्मतिर म जान चाहन्छु । मैले धेरै अगाडिदेखि नै सुन्दै आइरहेको छु कि नेपाली साहित्यकारहरू कलम चलाएर बाँच्न सकिरहेका छैनन् । अथवा, साहित्य बेचेर नेपाली साहित्यकारहरूले पैसा कमाइरहेका छैनन् । पाश्चात्य दर्शनशास्त्र भनेको भौतिकवादतिरको छ भने पूर्वीय दर्शनशास्त्र अध्यात्मवादतिरको छ । तेसो हुँदा उता शेक्सपियरले कवितामा 'पैसालाई जीवित इश्वर' भनेर लेखेका छन् अब हाम्रो देवकोटाको पारा हेरौं, ऊ मुनामदनमा लेख्छ- सुनका थैला, हातका मैला के गर्नु धनले - यो दर्शनगत आधारहरूमा पाइने ठीक विपरित मान्यताका कारणले पनि उताका साहित्यकारहरू साहित्यलाई बेच्न सक्षम भएको हुनुपर्छ । यता हामी चाहिँ के गर्नु धनले भन्दै आर्दशले नाङ्गैभुतुङ्गै भइरहेका छौं । पैसा, धनसम्पत्ति पनि आफूलाई पुग्नेगरी जोड्नुपर्छ तर सारै नै नीच प्रकारले होइन । नेपाली साहित्यमा जम्मा तीन प्रकारका साहित्यकारहरू छन् । पहिलो प्रकारका साहित्यकारहरूसित पैसा प्रशस्तै छ, उनीहरू व्यापारव्यवसाय गर्दछन् । नेपाल टेलिभिजनको समय किनेर आफ्नो गीति एल्बमको प्रत्यक्ष प्रशारण समेत गर्नसक्छन् उनीहरू । दोश्रो प्रकारका साहित्यकारहरू सरकारी जागिर खान्छन्, या कुनै एनजिओ या कलेजमा काम गर्दछन्, या मिडियामा काम गर्दछन् । तेस्रो प्रकारका साहित्यकारहरूसित कुनै पनि नियमित रूपमा पैसा आउने काम हुँदैन । र, यो तेस्रो प्रकारका साहित्यकारहरूमा बढीजसो आदिबासीजनजातिहरू देखा परिरहेका छन् । उनीहरू जसो तसो बाँचिरहेका छन् र लेखिरहेका पनि छन् । अब यौटा प्रश्न उठ्छ पैसा कमाउनतिर नलागेर किन साहित्यतिर लागेका त यी आदिबासीजनजाति - ठीक यहीँनेर जोडिन्छ राजनैतिक मुद्दा । ब्राम्हणवादी राज्यसत्ताले सयौंवर्षेखि दबाइरहेको मानवीय चेतनालाई उकास्नका लागि पनि आदिबासीजनजातिहरू भोकै साहित्य लेखिरहेका छन् । तपाइँ हामी विदेशमा बस्ने आदिबासीजनजातिहरूले उनीहरूलाई सहयोग गर्नसक्छौं र उनीहरूलाई प्रोत्साहन गर्न सक्छौं । यौटा कोश खडा गरेर प्रतेक महिना सय डलर जम्मा गर्ने हो भने नेपालमा आदिबासीजनजाति साहित्यकारहरूको एकेडेमी बनाउन सक्छौं । हाम्रा प्रतिभाशाली आदिबासीजनजाति स्रष्टाहरूको संरक्षण गर्न सक्छौं । उनीहरूका कृतिहरूको बिक्रीवितरण गर्नसक्छौं र आर्थिक टेवा दिनसक्छौं । आफै लेख्नु मात्रै स्रष्टा होइन, स्रष्टाले आफूजस्तै अन्य स्रष्टालाई बचाउँदै र आफू पनि बाँच्दै जानु पर्छ । हामी विदेशमा बसेर साहित्य लेखिरहेका र पैसा पनि कमाइरहेका साहित्यकारहरूबाट नेपालका हाम्रा आदिबासीजनजाति लेखकस्रष्टाहरूले धेरै आशा गरिरहेका छन् । उनीहरूलाई हामीले बिर्सिनु हुँदैन । भविष्यमा आदिबासी लेखकहरूले रोजगारीका लागि विदेश जान नपरोस् । देशभित्रै रोजगारीको प्रबन्ध होस् । राज्य संघीय लोकतान्त्रीक गणतन्त्रमा गइरहेको अवस्थामा अब हामी पनि लोकसेवा आयोगको अन्तर्वार्तामा पास हुन्छौं होला । किनभने हिजो लिखितमा फस्ट नम्बर ल्याउने आदिबासी जनजातिहरूलाई अन्तर्वार्तामा अनुहार र नाक हेरेरै फेल गर्नेहरूमा पनि विभेद गर्नु भनेको आफ्नै जाति या वंशका लागि खतरनाक हुँदोरहेछ भन्ने ज्ञान पलाइसकेको छ । यसरी हामीले पनि सरकारी जागिर खाँदै नेपालमै कविता लेख्ने दिन अब चाँडै आउनेछ । अब म केही वर्षछि नै लिम्बुवान फर्कदै छु । म यो तपाइँको ब्लगबाट सबै प्रवासी स्रष्टाहरूलाई आफ्नै थातथलो फर्किनुपर्छ भन्न पनि चाहन्छु ।


Views : 2560 | Date : 2008-08-01

Comments so far

 barun limbu from Hong Kong says on 03 December 2008
thanks bagaicha for such a powerful interview. i really agree with agyat, who is devkota? i'm was confused but never mind, i got an answer. barun limbu,hk

Leave Your Comment



Please enter the string shown.
Search Interview
Recent Comments
Sabina Lama
Raju Lama has always been my favourite.. thanks for this interview
bhim limbu
i was so glad to Bagaicha models and music, because i m interesting this site,
priyanka
vishu will u be my valentine?????
Ankita Mangla
Its been alwz fun to have sushant around. Congrats dear....proud of u... n all the best. M sure u gonna rock. Cheers... !!!