म वास्तवमा साहित्यलाई आत्माबाट माया गर्ने छाँया चित्रकार हुँ । - नेत्र जुनकीरी

नेत्र जुनकीरी
बर्तमान हङकङको नेपाली साहित्य र छाँयाचित्रकारिता जगतको सुपरिचित नामहरुमध्ये एक हो नेत्र जुनकिरी । उहाँ बिशेषत: छायाँचित्रकासाथ लघु कविता लेखनमा चर्चित हुनुहुन्छ । नेपालको सुन्दर प्रकृतिले भरिपूर्ण जिल्ला इलाम त्यस्कै सीमावर्ती भूभाग पशुपतिनगर थातथलो हो उहाँको । दार्जेलिङ, मिरिकमा पनि बसोबास भएको उहाँले नेपाल-भारत-हङकङको नेपाली स्रष्टा/सर्जकहरुबीच अवैतनिक दुतको काम गरी रहनु भएको छ । उहाँ अंग्रेजी भाषा-साहित्यप्रति पनि राम्रो ज्ञात भएको व्यक्तित्व हुनुहुन्छ । त आउनोस्-उहाँसँग बगैंचा डटकमका एक सदस्य बज्र कुमार थुलुङ राईले लिनु भएको अन्तर्वार्ता पढौं ।

१.   नेपाली साहित्य जगतमा तपाई 'नेत्र जुनकिरी' भनेर चीरपरिचित हुनुहुन्छ  । कसरी जुर्यो यो नाम ? बास्ताविक नाम के हो ? तपाईको जन्म कहिले र कहाँ भयो ? बाल्यकाल कसरी बित्यो ? विगतलाई छोटकरीमा सम्झनोस् न  

    "मगरको छोरा त हो, लाटो, जुनकीरीको ओढारमा देउसी खेल्ने" भन्दै खुब जिस्काउन हुन्थ्यो मेरो माइजुले  । हुन पनि हो  । संसारलाई दुई थरीका मान्छेहरूले ज्यादा बुझेका हुन्छन् कि एकदम लाटाले कि बाठाले  । म लाटो परें  । आफ्नै हिसाबले बुझें / बुझ्दैछु  । अनि बुझ्ने मौका पाउँछु होला  । मेरो वास्तविक नाम नेत्र प्रकाश थापा हो  । जन्म यहीँ हङकङमा भएको हो  । दार्जिलिङ, मिरीक, गान्तोक हुँदै मद्राससम्म माता सरस्वतीको कृपाले पढ्ने मौका पाएँ  । बाल्यकाल मेरो एकप्रकारको एडभेन्चरमै बित्यो  । जेठो छोरो, जिन्दगीलाई केही नजिकैबाट आभास गर्ने मौका पाएँ  । मावली बाजेसँग मेरो एकदम घनिष्ट सम्बन्ध  । खुब सिकाउनु हुन्थ्यो जिन्दगीको बारेमा  । हामी साथी थियौं  । म हङकङ आएपछि २ महिनावाद वहाँको निधन भयो  । हङकङको कथा वहाँलाई सुनाउने मेरो ईच्छा थाँती नै रह्यो  । यिनै कति सेन्टिमेन्टस्हरू सँगालेर राखेको छु  । म जुनकीरी ! वास्तविक संसारको चर्को घाम छ नेपालीको थाप्लोमा  । जुनेली रातको भर कतै छैन  । लडे, उठाउने कस्ले ? बरू जुनकीरी भए अघि बढ्न सकिन्छ, कि कसो ?

"जुनकीरी झै ज्योति बाली,

अन्धकारमा लम्कन्छ,

यो नेपाली ......." ३

करोड नेपालीहरू सबै जुनकीरी रहेछन्  । तपाईं पनि म जस्तै..... । मैले पेटन्ट पहिला फाइल गरेंछु  । हाहा...

२. साहित्यिक यात्राको आरम्भ कहिले,कहाँबाट र कसरी भयो?कुनै प्रेरणादायी कारण पनि छ की ?

    म वास्तवमा साहित्यलाई आत्माबाट माया गर्ने छाँया चित्रकार हुँ  । छाँया चित्रकारिताको मेरो अथक यात्रामा साहित्य मलाई अँगाल्न आइपुग्यो । शायद म पहिलो अँगाल्न पुगें कि? तर यी दुवै विधा मेरो मुटु र धड्कन हुन्  । नछुट्टिने कहिले  । बस् रमाउन पाउँ ... ईश्वरलाई बिन्ती मेरो  

३. कहिले हङकङ आउनु भो?त्योबेलाको नेपाली साहित्य र अहिलेकोमा के फरक छ ?

    म हङकङ  सन् १९९५ को अक्टोबर महिनाको ३० तारिख आएको हुँ । त्यसबखत नेपाली साहित्यको के कुरा गर्नु! हामी असाहित्यकार होस् या साहित्यकार । प्राय: सबै यो झलमल्ल हङकङमा कहीं  न कहीं अलमल्ल चै पक्कै परेका थियौं । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ खानपिन, नयाँ भाषा, नयाँ अनुहार, नयाँ भेष...आहा! त्यो समय!! कति इनोसेन्स् थियो हङकङे नेपालीको जीवनमा । तर नि:सन्देह, साहित्यकारहरूको तनमनमा यी सबै बदलिँदो समय एउटा युग भएर पक्कै  बाँचेका होलान् ।

४. नेपाली साहित्य र चित्रकारीतामा यहाँले गर्नु भएको उल्लेखनीय कार्यहरु छोटकरीमा बताई दिनुस् न । 

    नेपाली साहित्यको छेत्रमा मेरो खासै उल्लेखनीय योगदान रहेको छैन भन्ने ठान्दछु म  । तर छाँयाचित्र प्रदर्शनीमा मैले एउटा नयाँ प्रस्तुति गर्न खोजे  । एडभरटाइजिङ्ग सम्बन्धि केही ज्ञान भएको हुनाले छाँयाचित्र अनि कविताको फ्युशन गरें  । सबैलेमन पराए पनि अनि धेरैले एउटा कृति निकाल्न सुझाव दिनुभयो  । कविता एक ठाउँमा बसेर मन डुलाएर लेख्न सकिन्छ भनेछाँयाचित्रकारितामा त्यस्तो असम्भव छ  । सहि समय, प्रकाश अनि वस्तु खोज्न कठिन पर्न जान्छ । सहि यन्त्र पनि हुनपर्यो ।

५. तपाईको मुख्य साहित्यिक विधा कुन हो?किन मन पर्छ तपाईलाई त्यो ?

    मलाई कथा एकदम मनपर्छ । तर कविता कोर्न रूचाउँछु । कविता छोटो मीठो जिन्दगी हो  । कथा मुटु थामेर पढ्नु पर्छ .... कविताले स्पर्श गर्दै जान्छ, कहिले फूल भएर कहिले काँडा भएर ... सिक्काको दुई पाटो भएर...

६. के पाउनु भो के गुमाउनु भो साहित्य क्षेत्रमा लागेर?कति ख़ुशी हुनुहुन्छ ?

    साहित्यमा रूचि राख्यो भने केही गुमाउँदैन । बरू बिचार र आदर्शको धनी भएर जान्छ, मान्छे  । हरेक मान्छे साहित्यकार नहोला तर श्वास फेर्ने साहित्य हो  । मैले जिन्दगीमा कहिले पनि सोचेको थिइन म एकदिन कविता कोर्छु भनेर । बस् अनुभव कोर्ने हो...शब्दसँग चेश खेल्ने हो  । हारे पनि जीते पनि समाज धनी हुने हो  । म जस्तै साहित्यमा ज्ञान नभएको हरेक नेपालीले जिन्दगीको हरफहरू एउटा कवितामा मात्र ढाल्यौ भने । हामीसँग लगभग ४ करोड कविता बन्न जान्छ । अब कविता कोरौ अभियान चलाउदा कसो होला । ४ करोड कविता बन्यो भने हामी सबै भन्दा धनी हुन्छौ । कसोहोला कविता कोर्न मन मात्र चाहियो धनको काम छैन....

७. तपाईका कविताहरुमा कलात्मक तस्वीरहरु चिप्काएको पाइन्छ नि! कारण के हो ?

    छाँयाचित्रकारिता वैज्ञानिक कला हो । धेरै अनुभवको जरुरत हुन्छ । साहित्य भनेको बाँच्ने साधना हो सबैले बुझेका हुन्छन् । छाँयाचित्रलाई कविताले बाँध्यो भने एकप्रकारको मिठास भरिएर आउँछ । साहित्य पढ्दा पनि आँखामा छाँयाचित्र त घुमेकै हुन्छन् ।

८. फोटोग्राफी र साहित्यमध्ये कुनमा बढी रुची छ?किन ?

    उस्तै उस्तै । म कवितामाभन्दा छाँयाचित्रमा धेरथोर खुल्दछु  । मेरो पुरानो रूचि हो यो अनि मेरो विशेष अध्ययनको बिषय पनि । हजारौ शब्दले एउटा छाँयाचित्र बन्दछ । वाह !! आँखाले जाँच्नु पर्दछ । त्यो मौनतामा, रंगमा, गहिराइमा, होडबाजीमा, छाँयामा, मायामा...थुप्रै थुप्रै अन्दाजमा ।

९. अँ साँची,तपाई त छिमेकी देश भारतको बिभिन्न स्थानबाट लेखिने नेपाली साहित्यको बारेमा पनि जानकार हुनुहुन्छ । तेताबाट,नेपालबाट र हङकङबाट लेखिने साहित्यमा के कस्तो समानता र भिन्नता पाउनु भएको छ ?

    नेपालबाट लेखिने साहित्य नेपाली साहित्यको मुटु हो । मुलुकबाहिरबाट लेखिएका साहित्य त्यो मुटुबाट बिछोडिएका कहालीलाग्दो भावनाहरू हुन् । हुरीबतासमा निभ्न नचाहेका टुकिका प्रकाश हुन् । तिमीबिना हामी कसरी बाँच्यौं! एउटा मनभित्रका मीठो चुनौतीहरू पनि हुन् । समयसँग रगडिएर निक्लेका झिल्काहरू हुन् जसलाई हूर्काएर एउटा न्यानो आगो बनाईयो । वरिपरि बसेर कैयौं जिन्दगीमा लड्न पर्ने लडाईहरू रचियो अनि  बाँचियो पनि ... यो निरन्तर लडाई हो ..

१०. विदेशमा बसेर लेखिने साहित्यलाई डायस्पोरिक लिटरेचर भन्छन् नेपालमा । तथापि यो शब्दले मान्यता नपाई सकेको अबस्था छ । तपाईको आफ्नो तर्क के छ ?

    डायस्पोरिक साहित्य पुरानो टोपी लगाएर नयाँ सोंच भर्नु हो । पुरानो टोपीको महत्त्व बचाउन साहित्यकारहरूको ठूलो हात चाहिन्छ । गरिमा, गौरव बचाउन ठूलो प्रतिस्पर्धा गर्नुपर्छ । गर्दै आएका पनि छन् । यो फ्लोलाई अब नयाँ परिवेशमा कसरी ढाल्ने? प्रश्न आउँछ । धेरै होमवर्क गर्ने दिनहरू सिर्जना  हुन्छन् ।

११. अन्त्यमा तपाईको साहित्यिक विचार/अबधारणा संक्षिप्तमा राखी दिनुस् न ।

    मनमा लागेका कुराहरू लेख्यौं  । छलफल गरौं । राजनितीमा एक हुन जरुरी छैन । साहित्यमा नितान्त आवश्यक छ । हाम्रा सन्तानहरूले आशा गर्ने छन् ।


Views : 2111 | Date : 0000-00-00
Search Interview
Recent Comments
Sabina Lama
Raju Lama has always been my favourite.. thanks for this interview
bhim limbu
i was so glad to Bagaicha models and music, because i m interesting this site,
priyanka
vishu will u be my valentine?????
Ankita Mangla
Its been alwz fun to have sushant around. Congrats dear....proud of u... n all the best. M sure u gonna rock. Cheers... !!!