"साहित्य समुन्द्र जस्तो स्वच्छ र बिशाल हुनुपर्छ किनकि साहित्य चिकित्सकको औसधिभन्दा छिटो असर देखाउने मानसिक ओखती हो।"- - कल्पना राई

कल्पना राई
कल्पना राई नेपाली साहित्यको बिशेषत:कविता र गजल विधाकी एक शशक्त प्रबासी नारी हस्ताक्षर हुनुहुन्छ । हाल दक्षिण कोरियामा श्रम,श्रृजना र समाजसेवा गरिरहनु भएकी कल्पना "अनाथ बालबालिका संरक्षण तथा सहयोग परिवार" की एक अभियन्ता र "साहित्य समाज,दक्षिण कोरिया" की उपाध्यक्ष हुनुहुन्छ । गहन चिन्तन,परोपकारी मन,निस्वार्थ सेवा र जीवन्त श्रृजनामा उहाँ जोड दिनु हुन्छ । साथै अनाथ बालबालिकको क्षेत्रमा काम गर्ने उहाँहरूको संस्थाको नारा रहेको छ: "धन होइन हामी मनले माथि हौं ! मालिक होइन ति अनाथका साथी हौं !!" प्रस्तुत छ-उनै नेपाल आमाकी गर्व गर्न लायक छोरीसँग www.bagaicha.com,hongkong का सदस्य बज्रकुमार थुलुङ राईले लिनु भएको अन्तर्वार्ता:-

१.  तपाईको जन्म कहिले र कहाँ भयो ? बाल्यकाल कसरी विते ? ति बिगतहरुको बारेमा केही बताई दिनोस् न

   मेरो जन्म २०४०/०८/१७ गते बुवा कृष्ण बहादुर राई र आमा बिष्णु माया राईको कोखबाट उदयपुर जिल्लाको भागलपुर भन्ने स्थानमा भएको हो । बाल्यकाल भन्नुपर्दा सुखद नै थियो भन्नु पर्छ, बुवा जागीरे भएको कारण त्यस्तो दु:ख खासै केही थिएन । तर एकपटक समयले कोल्टे मज्जाले फेर्यो र फेरेपछि कस्को के नै लाग्दो रैछ र ? हो त्यही समयको बेगमा आजसम्म निरन्तर बगी नै रहेको छु,...

२.  कसरी र कहिलेबाट साहित्य लेखनतिर लाग्नु भो ? यस सम्बन्धि के कस्ता कामहरु गर्नु भो ?

   साहित्य लेखनमा निरन्तर लागेको भन्नु नै प्रवासको बसाइ हो भन्दा फरक नपर्ला तर कहिलेबाट साहित्य लेख्न र कसरी लेख्न थालें भन्नुपर्दा म सानै बाट साहित्य सिर्जना गर्न मन पराउँथे,रेडियोतिर मुक्तक, कविताबाचन सुन्दा निकै आनन्द आउँथ्यो र कसरी लेख्ने होला यस्ता राम्रा साहित्य भनेर घोत्लिने गर्थें । अझ भनौं  दैनिकी लेख्न एकदम मन पर्थ्यो र दैनिकीसंगै जीवन जगतलाई जोडेर कविता र निबन्ध लेख्न थालेंछु । हिजोआज यसो आफैंलाई केलाउँदा थाहा भयो,तिनीहरु कबिता,निबन्ध रहेछन् र केही दर्शनहरु रहेछन् । साहित्य पढ्ने,लेख्ने र मनपर्ने भएर पनि आज सम्म साहित्यमा खासै केही गरेको छु जस्तो लाग्दैन तर भविष्यमा केही नगरी छोड्छु भन्ने पनि छैन केही योजना छन् जून सफल भएपछी अवश्य भन्ने नै छु ।

३.  तपाई त समाजहितमा पनि उत्तिकै लाग्नु भाछ।कसरी र कहिलेबाट लाग्नु भो त्यता चाहिं ?

   खै समाजहित त के भन्नु र ? मानिस भएर जन्मेपछि आफूभित्र हुनुपर्ने मानवता मर्न नदिएको मात्रै हुँ जस्तो लाग्छ । यो आँखाले अरुको दुख देख्न सक्दैन र सकेको सहयोग गर्ने गरेको छु । यसैलाई निरन्तरता दिन कोरिया,अस्ट्रेलिया र नेपालमा रहनु भएको केही साथीहरु मिलेर एउटा अभियान चलाएका छौं- "अनाथ बालबालिका संरक्षण" भनेर जस्ले भविष्यमा एउटा अनाथ आश्रम निर्माण गरि अनाथ बालबालिकाको संरक्षण गर्ने उदेश्य लिएको छ भने अहिले पनि आठ बालबालिकालाई शैक्षिक सहयोग गरिरहेका छौं । साथै यही अभियानको अभियन्ता साथीहरु मिलेर ब्रेन ट्युमरका रोगी काशीराज जोसी र दुबईमा मृत्यु दण्ड सुनाइएका एक निर्दोष नेपाली अनिश खालिंग बचाउ अभियानमा दत्तचित्त भएर सहयोग जुटाउन लागि परेका थियौं जुन सर्वबिदितै छ ।

४.  साहित्य र समाजसेवामध्ये कुनप्रति बढी लगानी र संतुष्टी लाग्छ ?

   यो त निकै कठिन प्रश्न तेर्स्याउनु भयो... साहित्य र समाजहित मेरा लागि उतिकै महत्व,आनन्द र सन्तुष्टीको बिषय हो । फरक यति हो साहित्य सिर्जना गर्दा आफ्नो भावना र कल्पनालाई कलात्मक बनाउन कहिले काहीं बिचार र मस्तिष्कको प्रयोग गरिन्छ भने समाजहित नितान्त स्वच्छ भावना राखेर मनले गरिन्छ ।जसबाट कुनै प्रतिफलको आश गरिन्न।लगानी भन्नुपर्दा साहित्यमा खासै लगाएको छुईन मस्तिष्क र मनबाहेक तर समाजहितमा भने आफूले पसिना बगाएर कमाएको केही अंश सहयोग गर्ने गरेकोछु । किनकि समाजहित कहिले अर्थले,कहिले भावनाले,कहिले बोली त कहिले कर्मले गर्नुपर्ने रहेछ ।

५.  नेपालका सामाजसेवीहरुको अनैतिक र भ्रष्टचारी समाचारहरु आउँदा के लाग्छ ? नेपालमा समाजसेवी संस्थाको कत्तिको पारदर्शिता छ जस्तो लाग्छ ?

   नेपालमा हाल समाजसेवाको नाउमा धेरै संस्थाहरु छन ति मध्ये कतिले राम्रै काम गरेका छन् भने कतिले राम्रा काम गर्नेहरुलाई नकारात्मक असर पार्ने खालका काम पनि गरेका छन्। त्यसको लागि त के पो भन्न सकिन्छ र ? यसको लागि अति जिम्मेवार राज्यको चौथो अंग संचार पनि हो।कति राम्रै काम गर्नेलाई पनि मनोबल गिर्ने गरि हतोत्साहित बनाएको छ भने कति नराम्रै गर्नेलाई पनि भण्डाफोर गर्न सकेको छैन । पारदर्शिताको कुरोमा केही ठाउँ  ठीकै देखेको छु भने कुनै कुनै ठाउँमा म आफैंले सहयोग गरेर पनि निराश भएकोछु । त्यसैले अब कहीं कतै सहयोग गर्दा पारदर्शिता कतिको छ बुझेर मात्र गर्ने सोचेको छुlयस्तै सरल तर अति जटिल बिषय पारदर्शितालाई मुख्य स्थान दिएर हामीले आफ्नो अभियान अघि बढाएका छौं । अन्तत: समाजसेवी सम्पूर्णलाई सर्वप्रथम त आफ्नो आत्म शुद्ध गरेर समाज सेवामा दत्तचित्त भै लाग्नुहुन अनुरोध गर्दछु। जस्ले राम्रो काम गर्नेलाई असर नगरोस् ।

६.  कोरियामा तपाईको जीवन र साहित्य कति सहज र जीवन्त छ ? के कसरी अगाडि बढी रहनु भएको छ ?के कस्ता संघ/संस्थामा संलग्न हुनु हुन्छ ?

   कोरिया भन्ने बितिकै पराइभुमि जहाँ  हामी श्रम बेचेर जिन्दगीको  आर्थिक पाटोलाई केही हदसम्म सबल बनाउन आएका हौं ।त्यसैले पनि पराइभूमीमा सहज छैन कुनै पनि कार्य अथवा आफ्नो ईच्छा र आकांक्षालाइ मुर्तरुप दिनकोलागि। तर पनि "जहाँ ईच्छा त्यहीं उपाय" भने जस्तो मनले साहित्य पढ्न माग्छ,पढ्छु । मनमा लागेका भावनात्मक तरंगहरुलाई साहित्यको कुनै विधासँग साँधेर कोर्न मन लाग्छ र कोर्छु यसरी नै ब्यस्त जीवनको माँझमा साहित्यलाई मनले कल्पेर,प्रकृति,प्रेम,संस्कृति,विसंगति,देश प्रेम र चिन्तन-मननद्वारा साहित्यलाई जीवन्त पार्ने कोसिस गरिरहेकी छु। संघ संस्थामा संलग्न हुनु ठुलो कुराभन्दा पनि आत्मा सन्तुष्टीको लागि गरिने कार्य गर्नमन पर्छ तथापि हाल"अनाथ बालबालिका संरक्षण"मा अभियान्तको रुपमा छु भने साहित्य समाज दक्षिण कोरियामा उपाध्यक्ष छु ।

७.  पुरुषलाई भन्दा नारीलाई जुनसुकै ठाउँ र परिस्थिति अनि साहित्य श्रृजना गर्न साथै संस्थागत रुपमा अघि बढ्न कठिनाई हुन्छ भन्छन्,हो ? यहाँले के कस्ता समस्याको मुकाबिला गर्नु भएको छ ?

   अवस्य पनि।तुलनात्मक रुपमा पुरुषलाईभन्दा नारीलाई केही अफ्ठ्यारा र समस्या बढी नै हुन्छन्। जुनसुकै क्षेत्रमा पनि अघि बढ्नको लागि यो सबै हाम्रो समाजको बनावट र पुरुषवादी बिचारको कारण हो जस्तो लाग्छ । नारी सिर्जना गर्न पोख्त भएपनि आफ्नो विचारलाई पुरुष सरह सरल तरिकाले पोखाउन सक्दिनन् यो नै सबैभन्दा ठूलो बिडम्बना मान्दछु । नारीसँग जीवन भोगाईका धेरै पाठहरू हुन्छन्। तथापि त्यही कुरालाई सार्वजनिक गर्न कहीं न कहीं  कतै न कतै कठिनाइ हुन्छन् नै। चाहे सामाजिक कारणले होस् चाहे धार्मिक चाहे संकुचित बिचारको कारण होस् । खुशीको कुरा मैले चाहिं आजसम्म समयसँग बाहेक अरु केहीसँग मुकाबिला गर्नु परेको छैन । सायद यसको कारण प्रवासको बसाइ हो कि ? तर भोलिको दिन परिवारसँग बसेर यही कामहरु सुचारु तरिकाले गर्न सक्छु कि सक्दिन त्यो समयको हातमा छोडी दिउँ ।

८. पारिवारिक जीवनको बारेमा बताउन मिल्छ की ? साहित्य श्रृजनामा परिवारको साथ कतिको अपरिहार्य छ ? तपाईले कतिको साथ पाइरहनु भएको छ ?

   पारिवारिक जीवन अरुको जस्तै सरल र सहज नै छ त्योभन्दा अरु पृथक खासै केही छैन साहित्यिक सिर्जनामा पारिवारिक साथ नितान्त आवश्यक छ किनकि पारिवारिक साथ नै मानिसको जीवनको सबैभन्दा ठुलो अस्त्र हो जुन अस्त्रबिना जीवनको युद्ध जित्न असम्भब छ। मैले आजको दिनसम्म पर्याप्त साथ पाएकी छु। अपेक्षा छ-भोलिको दिन पनि आज जस्तै हुनेछ ।

९.  के पाउनु भो के गुमाउनु भो साहित्य क्षेत्रमा लागेर ? कति ख़ुशी हुनुहुन्छ ?

   साहित्यमा लागेर के गुमाएँ भन्ने प्रश्नै उठ्दैन कारण साहित्यमा लाग्नु कसैको करकापको बिषय होइन यो त खहरेले आफ्नो बाटो खोजे जस्तो मनले शान्ति र सन्तोक खोज्न रोजेको बाटो हो । साहित्यमा लागेर मान्छेमा हुनुपर्ने असल मन पाएँ । हजुरहरु जस्तो साहित्यिक स्रष्टाहरुसँग परिचित हुन पुगेको छु।तसर्थ म एकदम खुशी छु ।

१०. नेपाली साहित्यको कुन विधा बढी रुचाउनु हुन्छ ? किन ?

   मलाई साहित्यको गजल र कविता विधा मन पर्छ,कवितामा मनको भावबेगलाई कुनै रोकतोकबिना खुलस्त तरिकाले पोखाउन सकिन्छ। भने गजलमा पाँच शेरभित्र एउटा सिंगो कथालाई भाब,लय र बिश्राम मिलाएर लेख्न सकिन्छ lजसले गर्दा गजललाई गाउन सजिलो हुन्छ । साहित्यको अरु विधाहरुको पाठक भएपनि बिशेस मलाई कविता र गजल नै मन पर्छ ।

११. विदेशमा बसेर लेखिने साहित्यलाई डायस्पोरिक लिटरेचर भन्छन् तथापि यो शब्दले मान्यता नपाई सकेको अबस्था छ । तपाईको तर्क के छ ?

   बिदेशमा सिर्जना गरिएका साहित्यहरुलाई डायास्पोरिक शब्द सम्मानले दीइए वा हेपेर दिइयो त्यो त म भन्न सक्दिन । तर हामी जहाँ र जस्तो स्थिति-परिस्थितिमा बसेर सिर्जना गरेपनि आत्माभित्र मातृभूमि प्रेम,आदर्श र विसंगतिका विरुद्ध लेख्ने गरिन्छ।हामी पराइभूमिमा जति नै रमाए पनि खुशी भएको आभास गरे पनि मन,मुटु र श्रद्धा सधैं  आफ्नै देशप्रति समर्पित हुने गर्दछ।तसर्थ साहित्यलाई कुनै क्षेत्रमा बाँडेर लेखाजोखा नगरियोस् ।

१२. आदिवासी जनजाती लेखक/लेखिकाहरुमाथि राज्यले दमन,हेलच्याँक्राईं गर्छ,विभेद गर्छ भन्ने कुराप्रति तपाईको धारणा के छ ?

   हुन त राजनीतितर्फ मेरो कुनै झुकाब छैन । न त धर्म र जातभातप्रति नै। तरपनि केही दिन पहिलाको कुरा मानसपटलमा खेली रहेछ सायद यहाँहरुलाई पनि सम्झना होला भानु जयन्ती र त्यति नै बेला स्व.अरुण थापाको स्मृति दिवस थियो lत्यो बेला भानु जयन्ती भनेर राष्ट्रले बिभिन्न कार्यक्रम राख्यो र केही साहित्यकारहरुलाई भानु जयन्तीमा सम्मान पनि गर्यो तर स्व.अरुण थापाको स्मृतिमा खासै कुनै कार्यक्रम राखिएको देखिएन र थापा स्मृतिलाई सम्मान दिएको जस्तो पनि लागेन तसर्थ राष्ट्रले आदिवासी र जनजाति भनेर हेल्चाक्राई र विभेद गरेको भए यस्तो निन्दनीय कार्यप्रति राष्ट्र बेलैमा सचेत होस अन्यथा यो सानो सानो भुल र गल्तीहरुले गर्दा राष्ट्रले ठुलो क्षति बेहोर्नु नपर्ला भन्न सकिन्न ।

१३. अन्त्यमा तपाईको साहित्यिक अबधारणा संक्षिप्तमा राखी दिनोस् न ।

   साहित्य भनेर जति सजिलो सुन्न र बोल्नमा छ त्यति सजिलो छैन लेखनलाई । हिजो आज साहित्य भनेर दिनहुँ  लेखेको पाईन्छ, देख्न पाइन्छl त्यो सब देखाईको प्रतिबिम्बहरु हुन जस्तो लाग्छ साहित्यलेखनमा अध्ययन गर्नु जरुरी हुन्छlअध्ययनबिनाको साहित्य आज उम्रिन्छ भोलि नियतिको घामपानी सहन नसकेर मर्छ तसर्थ साहित्य सिर्जना गरि सकेपछि त्यसलाई बाँच्न सक्ने बातावरण आफ्नै बिचारहरुको प्रवाहले गर्न सक्नु पर्छ जस्तो लाग्छ। भने साहित्य कुनै बिशेस जातभात उचनीच भन्दामाथि उठेर लेख्न सक्नु पर्छlसाहित्य समुन्द्र जस्तो स्वच्छ र बिशाल हुनु पर्छ किनकि साहित्य चिकित्सकको औसधिभन्दा छिटो असर देखाउने मानसिक ओखती हो। साहित्य सकारात्मक सोचयुक्त,मानिसको अन्तर हृदयलाई बिउँझाउन सक्ने साहित्य नै सधैं  सधैं बाँचिरहन्छ मेरो मान्यता हो ।


Views : 2131 | Date : 2014-08-12
Search Interview
Recent Comments
Sabina Lama
Raju Lama has always been my favourite.. thanks for this interview
bhim limbu
i was so glad to Bagaicha models and music, because i m interesting this site,
priyanka
vishu will u be my valentine?????
Ankita Mangla
Its been alwz fun to have sushant around. Congrats dear....proud of u... n all the best. M sure u gonna rock. Cheers... !!!