"......नेपालका केही साहित्यिक पन्डाहरुको उपद्रो सिवाय यो अरु केही होइन।" - हाङयुग अज्ञात

हाङयुग अज्ञात
चर्चित कवि तथा लेखक हाङयुग अज्ञात नेपाली साहित्य क्षेत्रका एकजना वजनदार व्यक्तित्व हुनुहुन्छ।उहाँले आजभन्दा देढदशक अगाडि स्वदेशका बुलन्द साहित्यकारद्वय राजन मुकारुङ र उपेन्द्र सुब्बासँगको वैचारिक एकतामा संलग्न भएर श्रृजनशील अराजक साहित्य लेखन अभियानको अगुवाई गर्ने कार्यमा आफूलाई समर्पित गर्नु भयो । सानै उमेरबाट साहित्य लेखनमा लाग्नु भएका कवि अज्ञात एकदशकभन्दा अघि हङकङ प्रवेश गरेर पनि हात बाँधेर बस्नु भएन।यहाँ पनि उहाँले श्रृजनशील अराजक साहित्यकै आग्रहमा लेखिने साहित्य भनेर कवि नरेश सुनुवारसँगको सहकार्यमा श्रृजनशील साहित्यको उदघाटन गर्नु भयो।केही न केही उर्जाशील नवीनतम साहित्यिक कार्यको थालनी गरेर नेपाली साहित्यलाई पाठकप्रीय बनाउँदै विश्व साहित्यसँग जोड्न प्रयत्नशील उहाँले हालै छोटो,रसीलो र स्वादिलो "चाउचाउ साहित्य "को आफ्नो अबधारणालाई अघि सार्नु भएको छ।

     प्रस्तुत छ उहाँसितै बगैंचा डटकमका सदस्य बज्रकुमार थुलुङ राईले गर्नु भएको वार्तालाभ:-

 

१. तपाईको जन्म कहिले र कहाँ भयो ? खास नाम ? बाल्यकाल कसरी बित्यो ? ति विगतहरुको बारेमा केही बताई दिनुस् न।

 

मेरो जन्म वि.सं. २०३३ साल  पुष १ गते ईलामको सरकारी अस्पतालमा बिहान ७ बजे भाको अरे । तर मलाई तेस्तो लाग्दैन । मेरो खास नाम हाङ्यकफेन हो स्कूलको अनि घरको खास नाम पथुराज हो । मेरो बाल्यकाल एक्लै बित्यो होस्टेलमा । आमा बुबा र दाजुभाइ र दिदीहरुको पारिवारिक वातावरण मलाई कहिले नसिब भएन । सायद त्यो अभाव पूर्तिका लागि साहित्यतिर लागेको हुन सक्छु म । तर मेरो बुबाले महिनामा यौटा चिट्ठी पठाउनु थाल्नु भो जब म ५ किलास पुगें अनि बुबाको चिट्ठीहरु पढ्न थाले पछि जीवनमा केही हुनु पर्छ भन्ने लाग्थ्यो । तेहिबेलादेखि चित्र र कविता कोर्नु थालें ।

 

२. तपाईलाई मुख्यत: हाङयुग अज्ञात र सुब्बा साप नामले चिनिन्छ,यी दुई नाम कसरी जुरे ? कुन सम्बोधनले बोलाउदा तपाईलाई उचित लाग्छ,र किन ?

  २०४६ सालको आन्दोलन मैले स्कूलको झ्यालबाट देखेँ । जिन्दावाद जिन्दावाद मुर्दावाद मुर्दावाद भन्ने नारा लगाउँदै कालो पट्टि बाँधेर बढिरहेको जुलुस देखेर म हाम्रो राजा हाम्री रानी प्राण भन्दा प्यारो छ को स्लोगन लगाइरहेको फुच्चेलाई एक किसिमको जोस आको थियो । र पन्चायतको विरोधमा ४ लाइन कविता लेखेको थिएँ । तर पुलिससित डर लाग्थ्यो र कवितामा नाम राखेँ अज्ञात । मेरो बुबालाई समात्न धेरै चोटि पुलिसहरु घरमा आका थिए । तर बुबा अर्ध भूमिगत हुनु हुन्थ्यो । अनि यो अज्ञात छोड्नु माया लाग्यो, र हाङ्युगमा अज्ञात जोडेको हुँ । सुब्बा साप चाइनिज र साथीहरूले काममा राखिदिएको हो । मेरो लागि यी दुवै नाम प्रिय छ्न्।

 

३. तपाईको साहित्यिक यात्राको सुरुवात कहिले,कहाँबाट र कसरी भयो ?

  २०५० सालमा पाठक प्रतिक्रियाबाट सुरु भयो मेरो साहित्यिक यात्रा । 'नेपालको हिमालयलाई सर्काइरहन पर्दैन, मखमली र सयपत्रीलाई फुर्काइरहन पर्दैन' भन्ने मेरो पाठक प्रतिक्रिया छापिए पछि छापामा रुचि बढ्नु थाल्यो मेरो । अनि क्रमैले रचनाहरु छापिनु थाल्यो । रुपरेखा साप्ताहिकमा साहित्यिक स्तम्भकारका रूपमा काम गर्न थाले पछि चैं साहित्यमा गहिरिएर लागेको हो ।

 

४. कहिले हङकङ आउनु भो ? तपाई यहाँ आउँदा कस्तो थियो नेपाली साहित्य ?

म २००४ मा हङकङ आको । तेतिबेला नेपामा चैं सिर्जनशील अराजकताको चक्चकी थियो । हङकङमा साथीहरूले नेपाली साहित्य लेखिराख्नु भाको थियो । राम्रै थियो । तर हङकङको नेपाली साहित्यलाई अझै विकास गर्नु पर्छ भनेर कवि नरेश सुनुवारसित सिर्जनशील साहित्य सुरु गरियो । यस बीचमा देवेन्द्र खेरेस, गणेश राई, सिके राई मिलन देखि देश सुब्बाको भयवादलाई सिर्जनशील साहित्य समाजले टेवा दिने काम गरियो ।  १९९८ मा पहिलोपटक साहित्यिक गोष्ठी गर्ने भूपेन्द्र चेम्जोङ र चन्द्र मादेन लगायत चन्द्र दुमि, प्रकाश बाक्सिला, आशा भुटिया, शिव प्रधान, शरण सुब्बा, क्रान्ति सुब्बा, टंक सुब्बा, दीप निरीह, नेपाल कुस्सा, भोगेन एक्ले, मालिकराम राई, नरजित राई, राम्कृष्ण वान्तवा, नरेश सुनुवार आदि साथीहरुले हङकङको नेपाली साहित्यमा काम गरिराख्नु भाको थियो, म पनि थपिएँ ।

 

५. नेपाली साहित्यमा यहाँले गर्नु भएको उल्लेखनीय कार्यहरु छोटकरीमा बताई दिनुस् न। सहयात्रीहरु सम्झँदा को-कस्लाई सम्झनु हुन्छ ?

  हङकङमा कवि नरेश सुनुवार र मैले सिर्जनशील साहित्य समाजको स्थापना गरेर यहाँका स्थानिय साहित्यकारहरुको साहित्यिक कृति प्रकाशन, विविध साहित्यिक गतिविधिहरु गर्दै आएकोमा अहिले सिर्जनशील समाजका कामहरु अनलाइनबाट भैरहेको छ । पुस्तक प्रकाशनलाई छुट्टै संयन्त्र चाहिने भएकोले अन्य १२ जना साथीहरुसित मिलेर बगैँचा पब्लिकेसनको स्थापना भएर यौटा गजलको पुस्तक प्रकाशन पनि गरिसकेका छौं । सिर्जनशील साहित्य समाजको स्थापना पश्चात् हङकङको नेपाली साहित्यको चर्चा र मूल्याङ्कनको परम्परा शुरु भयो । हङकङमा मात्रै होइन हामीले हङकङको नेपाली साहित्यको विषयमा नेपालमै पनि गोष्ठीहरुको आयोजना गरियो जसको कारण हङकङको नेपाली साहित्य मूलप्रवाहमा अलग पहिचान लिएर बगिरहेको छ ।

 

६. तपाईका प्रकाशित कृतिहरु नि ?

  मेरो प्रकाशित कृतिहरु हुन्-

१. रङ्गिन आविष्कार

२. ढुङ्गामुढाको मन

३. करङ्को हिरासत

४. ककपिक

 

७. हङकङको नेपाली साहित्यमा तपाईको पुनर्गमन हो भन्छन् नि ! के गर्दै हुनुहुन्थ्यो त्यो बीचमा ?

यो पुनरागमन होइन । म साहित्यिक गतिविधिमा प्रत्यक्ष सहभागी नभएको मात्रै हो । यसबिचमा मैले हङकङ युनिभर्सिटीबाट विश्व अङ्ग्रेजी साहित्यमा डिप्लोमा सकाएको छु भने ओपन युनिभर्सिटी अफ हङकङबाट कानुन व्यवस्थापनमा स्नातकोत्तर गरिरहेको छु ।  तर साहित्य लेख्दै नलेखेको भन्ने होइन । प्रकाशन मात्रै नभएका हुन् ।

 

८. अचेल चाउचाउ साहित्यको खुब चर्चा छ यहाँ। के हो यो ? को हो यस्को प्रणेता ? किन आबश्यक छ यो ? प्रष्ट पारी दिनोस् न।

  हङकङमा लेखक र पाठक बिचको दुरि बढ्दै गइरहेको अवस्थामा हामीलाई लाग्यो कतै लेखकले नै पाठकहरुको रुचिलाई वेवास्ता गर्दै लेखिरहेको त छैन ! अनि हङकङमा लेखक र पाठकसित समय पनि त पर्याप्त छैन ! बसको यात्रामा हाम्रा पाठकले हाम्रो साहित्य पढोस् भन्ने हाम्रो ईच्छालाई साकार तुल्याउन छोटो मीठो सकारात्मक शैली र विचारबाट लेखौं भन्ने आग्रहमा यो चाउचाउ साहित्यको धारणा आयो ! चाउचाउ जस्तै छिटो मीठो भन्ने साङ्केतिक आग्रह रह्यो ! छोटो अवधीमै यस्ले हङकङको जनमानसमा गहिरो प्रभाव पार्न सफल भएको छ ! यस्को जस यो शैलीमा लेख्ने सबैलाई जान्छ !  बिशेष गरिकन रविन राईले चाउचाउ साहित्यमा चिन्तन धारणा निर्माण गरिरहेका छन् !  अनि तेस्तै मगेन्द्र राई र कविता राईले मलाई यसप्रकारको लेखनलाई निरन्तरता दिन आग्रह भए अनुसार मैले पनि लेखिरहेको छु !

 

९. तपाई नेपालमा अराजक साहित्य समुहमा संलग्न हुनुहुन्थ्यो हो ?

  नेपालमा राजन मुकारुङ, उपेन्द्र सुब्बा र म भएर तेतिबेलाको एकाङ्गी नेपाली साहित्यमा विभिन्न आदिवासी जनजातिहरुको जीवनलाई पनि लेख्नु पर्छ तेसो गरियो भने मात्रै नेपाली साहित्य खासमा सप्पै नेपालीको हुन्छ भनेर सृजनशिल अराजकताको आग्रह गरियो ! तेतिबेला हामीलाई जातिय साम्प्रदायिक विखण्डनकारी साहित्यकारको बिल्ला भिराउनेहरुले आज आएर हामीलाई नै हाम्रो त्यसप्रकारको पहिचानवादी लेखनको समर्थन गर्दै मदन पुरस्कर पनि दिसक्नु भाको छ ! यहाँ हङकङमा आएर कवि नरेश सुनुवार र म भएर सिर्जनशिल लेखन सुरु गर्युङ ! हङकङको शासकहरुसित हामीले अराजक भैराख्नु पर्ने जरुरी नभएकोले त्यो अराजकता चैं छोडियो ! अनि नयाँ लेखकको स्थापना भैसकेको अवस्थामा अब हामीले हाम्रो लेखनमा अरु थप विश्वजनिन सोच र चिन्तन घोल्नु पर्छ भनिकन यो सिर्जनशिल लेखन थालियो !

 

१०. अनि यहाँ आएर श्रृजनशील साहित्य भनेर शुरु गर्नु भए छ। के फरक छ यी दुई साहित्य लेखनमा ?विदेशमा बसेर लेखिने साहित्यलाई डायस्पोरिक लिटरेचर भन्छन् नेपालमा। तथापि यो शब्दले मान्यता नपाई सकेको अबस्था छ। तपाईको आफ्नो तर्क के छ ?

  यो विषयमा मैले मेरो धारणा पहिले पनि सार्वजनिक गरिसकेको हुँ ।हाम्रो सबै थातथलो नेपालमै भएको कारण अथवा मूलभूमि नेपालसित हाम्रो सम्बन्ध विच्छेद नभएको अवस्थामा हामीले लेखेको साहित्यलाई डायोस्पोरिक भनिनु हास्यास्पद हो । नेपालका केही साहित्यिक पन्डाहरुको उपद्रो सिवाय यो अरु केही होइन । यदि डायोस्पोरिक नभनेर के भन्ने त भन्ने सवालमा मैले भन्ने गरेको छु कि जुन ठाउँमा लेखिएको हो तेहि ठाँउ विशेषको साहित्य भनेर इंगित गर्ने, जस्तो हङकङेली या हङकङको  नेपाली साहित्य, मलेसियाको नेपाली साहित्य, अमेरिकाको नेपाली साहित्य, बेलायतको नेपाली साहित्य, भारतको नेपाली साहित्य, खाडीको नेपाली साहित्य इत्यादि । बहुकेन्द्रको स्थापना पनि हुन्छ यसो गर्दा अनि सटिक रूपले नेपाल बाहिर लेखिने गरिएको साहित्यको अध्ययन पनि हुन्छ।

 

११. हङकङवासी नेपालीले लेख्ने साहित्य कता गैरहेकोछ ? यस्का सकारात्मक र नकारात्मक पक्ष के के हुन् ? यहाँको विचारमा कस्तो लेखिनु पर्छ यहाँबाट लेखिने साहित्य ?

हङकङमा लेखिने साहित्य बढो गजबको छ ! तर हङकङ बाहिरकाले हङकङको नेपाली साहित्यलाई एक्दमै सस्तो किसिमबाट हेरेको जस्तो लाग्छ मलाई ! यसको रामकृष्ण वान्तवाको उपन्यास काण्ड लगायत पैसा खर्चेर आफ्नो अनुकूल मिडियाबाजि गर्ने एक थरी साहित्यकारहरुको सक्रियताले हङकङेली नेपाली साहित्यकारहरुको इमेज दिनानुदिन खस्किरहेको छ, लेखन त झन्झन् खिसी टिउरीको विषय बन्दैछ ! तथापि, नरेश सुनुवार, दिपा राई, हरुको गम्भीर लेखनले केही आसाको त्यान्द्रो छ ! अनि भर्खरै बज्रकुमार थुलुङ राई पनि आइपुग्नु भा छ ! अब केही चमत्कार हुनेछ ! हङकङको जीवन जगत लेख्दै विश्व स्तरिय साहित्य लेखन अबको हाम्रो उद्देश्य हुनु पर्छ ।

 

१२. तपाईको मुख्य साहित्यिक विधा कुन हो ? किन मन पर्छ तपाईलाई त्यो ?

सुरुदेखि मलाई कविता नै मन परेको हो ! सायद वैरागी काइँलाका कविताहरु सानै उमेरदेखि पढेर होला कविताप्रति मेरो विशेष लगाव रहिआएको छ ।

 

१३. अन्त्यमा तपाईको साहित्यिक विचार/अबधारणा संक्षिप्तमा राखी दिनुस् न।

साहित्य सप्पै आग्रह पूर्वाग्रहबाट मुक्त हुनु पर्दछ भन्ने धारणा मेरो पनि छ अरु साहित्यकारहरूको जस्तै तथापि विशेषगरिकन म सृजनशिल अराजकताको साहित्यिक अभियानसित संलग्न भएकोले मलाई आदिवासीजनजाति उत्पीडित उपेक्षित जाति र वर्ग विचार जीवन र जगत लेख्न मन लाग्छ ।यसका साथै विगत १० वर्षदेखि म हङकङमा बसिरहेकोले हङकङको जीवन र जगतलाई पनि कवितामा लेख्ने कोसिस गर्दैछु । अहिले हङकङमा सबै पाठकहरुले औधी रुचाइरहेको चाउचाउ साहित्यलाई पनि फेसबुकबाट प्रकाशन गरिरहेको छु ।

 

धन्यवाद ! कवि हाङयुग अज्ञातज्यू, यहाँको साहित्यिक विवेक र लेखनले नेपाली साहित्यलाई विश्व साहित्यमा चीरपरिचित गराउन सकोस्।बगैंचा डट कमकोतर्फबाट यहाँलाई हार्दिक शुभकामना।


Views : 2398 | Date : 2014-07-03
Search Interview
Recent Comments
Sabina Lama
Raju Lama has always been my favourite.. thanks for this interview
bhim limbu
i was so glad to Bagaicha models and music, because i m interesting this site,
priyanka
vishu will u be my valentine?????
Ankita Mangla
Its been alwz fun to have sushant around. Congrats dear....proud of u... n all the best. M sure u gonna rock. Cheers... !!!