तीन करोड मागेपछि नयाँ पार्टी खोलेकी हुँ- संविधानसभा सदस्य माननीय यशोदाकुमारी लामा - यशोदाकुमारी लामा

यशोदाकुमारी लामा
दलित जनजाति पार्टीकी सभासद लामाले अध्यक्ष विश्वेन्द्र पासवानसँग असहमति जनाउँदै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि उनी चर्चामा आएकी हुन् । तीन करोड चन्दा मागेर दिनैपिच्छे हैरान पारेकाले सो पार्टी त्याग्नुपरेको सभासद लामाको भनाइ छ । उनै लामासँग गरिएको कुराकानी:

जनजातिभित्रको दलितको पार्टी हो ?

होइन, जनजाति र दलित मिलेर बनेको पार्टी थियो । तर पार्टीको नीति र सिद्धान्त एकातिर, व्यवहार अर्कोतिर हुन थालेपछि मैले विद्रोह गरेर नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेकी हुँ ।

के कारणले पार्टी फुटाउनु भएको ?

सिद्धान्त त उही पुरानै हो,अध्यक्ष (विश्वेन्द्र पासवान) को व्यवहार मलाई ठीक लागेन । उनको देखाउने र चपाउने दाँत बेग्लै रहेछ ।

देखाउने र चपाउने भनेको?

जनजाति र दलितलाई देखाएर राजनीति गर्नुहुन्छ, तर उहाँको भित्री उद्देश्य भनेको अर्थ संकलन नै हो । झट्ट हेर्दा मान्छे साधुजस्तो देखिनु हुन्छ, तर उहाँलाई नजिकबाट बुझ्नेका अनुसार पासवान साधुको भेषमा डकैती गरिरहनु भएको छ ।

अध्यक्षलाई त्यस्तो आरोप लगाउन मिल्छ ?

पार्टी अध्यक्ष तथा सभासद्जस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई म जतिको व्यक्तिले त्यस्तो आरोप लगाउनु त हुँदैन थियो । तर, सहनुको पनि हद हुँदो रहेछ । अहिलेसम्म त सहेरै बसेकी थिएँ, सहन नसकेर नै मैले त्यो आरोप लगाएकी हुँ । दलित जनजाति पार्टी सिंगलम्यान पार्टी हो,पार्टीका अन्य पदाधिकारी सबै औंठाछाप हुन् । उनको अत्याचार र निरंकुशताबारे अरु केही बोल्न चाहादैनन् ।

अध्यक्षले त्यस्तो के काम गर्नुभयो ?

हाम्रो पार्टीका संरचनात्मक विकास भएको छैन । अध्यक्षको नाममा व्यक्तिगत बैंक खाता छ । पार्टी र सभासद्को नाममा प्राप्त भएको सहयोग सुविधा सबै उहाँको बैंक खातामा जम्मा हुन्छ । मेरो पारिश्रमिक र संसद सुविधासमेत मलाई थाहा नदिई उहाँले झिकेर प्रयोग गरिसक्नुभएको रहेछ ।

पार्टी सञ्चालन गर्न खर्च चाहिँदैन ?

पार्टी सञ्चालनका लागि जति पनि खर्च गर्न सकिन्छ, यी सबै कुरा मलाई राम्रोसँग थाहा छ । संसद्ले दिएको मेरो पारिश्रमिक पार्टीले लिने हो भने पार्टीले मलाई पकेट खर्च उपलब्ध गराउनु पर्दैन ? पारिश्रमिक पनि सबै लिने, उल्टो तीन करोड चन्दाले भनेर दिनरात कचकच गर्न त भएन नि ?

चन्दा दिन्छु भनेर सभासद् हुनुभएको होला नि त ?

त्यस्तो केही लिखित सम्झौता गरेकी छैन । दलित र जनजातिको हितमा पार्टी अगाडि बढाउने सहमति भएको हो । पार्टीमा मलाई उपाध्यक्ष बनाउने अथवा महिला विभाग दिन्छु भन्नुभएको थियो, तर उहाँले दिनुभएन । अर्थ संकलनका लागि मात्र दबाब दिनुहुन्छ ।

असहमति भएको कुरो पार्टीमा राख्दा हुँदैन थियो र ?

सिंगलम्यानपार्टीमा व्यक्तिको केही सुनुवाइ हुँदैन रहेछ । औंठाछाप केन्द्रीय समितिमा अध्यक्षका अगाडि कोही बोल्न सक्दैनन् । दलितको पार्टीमा दलित नै व्यवहार हुँदो रहेछ ।

अध्यक्ष सँग तँ तँ म म नै पर्‍योकी ?

मैले पनि अध्यक्षको मान राख्नैपर्‍यो । पाँच सात घन्टा डिस्कस गरें, तर तँ भनिना । मैले नयाँदल दर्ता गरे पछि मलाई पार्टीले कारबाही गरेको भन्ने सुनें । केन्द्रीय कमिटीको बैठक बोलाएको मलाई थाहा छैन ।

छाडेको पार्टीको कसरी व्याख्या गर्नुहुन्छ ?

त्यो झोलाछाप पार्टी हो, त्यसको कार्यालय भनेकै विश्वेेन्द्र पासवानले बोक्ने कालो झोलामा छ । खर्च पारदर्शी छैन, पार्टीका नाममा लिएको चन्दा अध्यक्षले एटीएमबाट झिक्छन् । यो दलित र जनजातिको नाममा राजनीति गरेर ठगीखाने व्यक्तिको धन्दा हो भन्दा फरक पर्दैन ।

त्यस्तो पार्टी छोड्न सक्नुहुन्थ्यो नि ?

दिनरातको कचकच सुन्नुभन्दा त पार्टी छोडुँ कि भन्ने मनस्थिति बनाएकी थिएँ, तर पार्टी छोड्नुभन्दा छुट्टै दल दर्ता गरेर अघि बढ्दा राजनीतिक उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने लाग्यो । त्यही भएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकी छु ।

दल दर्ता भयो त ?

निर्वाचन आयोगमा निवेदन दिएकी छु, उपनिर्वाचनको व्यस्तताले अहिले आयोगले मेरो निवेदन मात्र दर्ता गरेको छ । बाँकी प्रक्रिया उपनिर्वाचनपछि हुन्छ भन्ने जवाफ पाएकी छु ।

एक्लैले राजनीतिक दल चलाउन सक्नुहुन्छ त ?

राज्यले पछि पारेका दलित र जनजातिको हकमा काम गर्ने हो । उनीहरूको हक र अधिकारका लागि लड्दा धेरै चुनौतीको सामना गर्नुपर्ला । तर निश्चित उद्देश्यका लागि खोलिएको राजनीतिक दल सफल हुन्छ भन्ने कुरामा म विश्वस्त छु । सभासद् गरिमायम पद हो, तर राजनीति सिद्धान्त, नीति र विचारभन्दा सभासद् पद मेरा लागि ठूलो होइन ।

अध्यक्ष पासवानसँग कहिलेदेखिको चिनजान हो ?

दुई वर्षजति भयो चिनजान भएको । उहाँ मेरो माइती गाउँको हुनुहुँदो रहेछ । म पनि राजनीतिबाट विश्राम लिएर बसेकी थिएँ, अब पार्टी हाँक्नुपर्छ भनेर उहाँले बोलाउनुभयो । बेकारमा त्यो पार्टीमा संलग्न भएजस्तो लाग्छ अहिले ।

राजनीतिक पृष्ठभूमि सुनाउनुहोस् न ?

विद्यार्थी जीवनमा वामपन्थी राजनीतिबाट प्रेरित थिएँ, पछिल्लो समय नेपाली काँग्रेसको शुभचिन्तक बनें । छोराछोरी पढाउने, घर व्यवहार र व्यापार व्यवसाय सञ्चालन गर्न थालेकाले राजनीतिबाट विश्राम लिएकी थिएँ ।

के व्यवसाय छ ?

यातायात, फाइनान्स, सहकारी र व्यापार गर्छु । अहिले राजनीतिलाई समय दिनुपरेकाले मेरा सबै व्यवसाय श्रीमानले हेर्नुहुन्छ ।

कहाँ पढ्नुभयो ?

स्कूल सिन्धुली र धनुषामा पढें । धनुषाबाटै एसएलसी पास गरें । आरआरबाट आईए पास भएपछि स्नातक र स्नकोत्तर (एमए) भारतबाट पूरा गरेकी हुँ ।

कस्तो परिवार ?

माइती जमिन्दार हुन् । हामी चार दिदीबहिनी र एउटा भाइ हो, भाइ क्यानडामा छ । अरु दिदीबहिनीहरूको पनि राम्रै व्यवसाय छ । पढ्ने र पढ्नुपर्छ भन्ने मान्यता परिवारमा थियो । मेरो दुई छोरा छन्, एउटा अष्ट्रेस्लियामा छ, अर्कोले ग्राफिक डिजाइनमा उच्चशिक्षा हासिल गर्दैछ ।

कति थियो जमिन ?

बुबाहरू सात भाइ हुन्,उहाँहरूको जनकपुरमा मात्र डेढ सय बिघा जग्गा थियो । माइतीको सम्पत्तिमा धक्कु लगाएजस्तो हुन्छ, तर दिएर खान पुग्ने परिवार हो हाम्रो । म पनि आफ्नो व्यापार व्यवसायबाट सन्तुष्ट छु ।

प्रेम विवाह गर्नुभयो ?

होइन, हाम्रो परिवार अनुशासित थियो । हाम्रो पालामा त्यस्ता लप्पनछप्पनका कुरै हुँदैन थिए । इन्डियन लाहुरे बुद्धिबहादुर तामाङ माग्न आउनुभयो, बुबाले उहाँसँग विवाह गरिदिनुभयो ।

 

महिलालाई राजनीति गर्न कत्तिको सजिलो हुन्छ ?

कसैले प्रगति गरेको देख्यो भने खुट्टा तान्ने हाम्रो समाजमा धेरै अप्ठ्यारा पार गर्नुपर्ने रहेछ । घर व्यवहार पनि हेर्नैपर्‍यो, त्यहाँ पनि अनेक समस्या आइहाल्छ । कहिलेकाहीँ त निराश नै बनाउँछन्, तर आत्मसमर्पण होइन, चुनौतीको फेस गर्नुपर्नेरहेछ भन्ने मेरो अनुभव छ ।

घर कि बाहिरका चुनौती धेरै ?

घरको सहयोग पाएर नै म यो अवस्थामा आइपुगेकी हुँ । खुट्टा तान्नेहरू त बाहिरका हुँदा रहेछन् । तिनीहरू अर्काको प्रगति देखिसहँदा रहेनछन् ।

 

श्रोत: तरूण साप्ताहिक, २०७१ जेठ १२ गते सोमबार


Views : 1900 | Date : 0000-00-00
Search Interview
Recent Comments
Sabina Lama
Raju Lama has always been my favourite.. thanks for this interview
bhim limbu
i was so glad to Bagaicha models and music, because i m interesting this site,
priyanka
vishu will u be my valentine?????
Ankita Mangla
Its been alwz fun to have sushant around. Congrats dear....proud of u... n all the best. M sure u gonna rock. Cheers... !!!