'ककसबाट प्राप्त शक्तिलाई संस्थागत गर्न आवश्यक छ' - किसन राई

किसन राई
किसन राई, हङकङ नेपाली पत्रकारिताका एकमात्र पूर्णकलीन पत्रकार हुन। उनले विगत ११ वर्ष देखि लगातार साप्ताहिक एभरेष्टकको सम्पादन र प्रकाशन गरिहेकाछन् । पुख्र्यौली घर ओखलढुंगा भई धरान नगरपालिकामा स्थायी वसोवास भएका श्री राई खुल्ला र हाक्की स्वाभावकाछन् । हङकङको सवालमा आदिवासी जनजाति सवालमा वेला वखत निक्कै खरो समेत उत्रेका उदाहरणहरू छन् । स्कूले जीवनबाटै अखिल मार्फत कम्युनिष्ट राजनीतिको प्रभावमा परेका किसन धरान स्थित महेन्द्र क्याम्पसको स्ववियु सचिव तथा अनेरास्ववियु प्रारम्भिक कमिटिको उपाध्यक्ष समेत रहेका थिए । १९९८ मा हङकङ प्रवेश गरेर पछि पनि पार्टीराजनीतिमा सक्रिय नै रहे । यसै क्रममा नेकपा एमाले हङकङ कमिटको तेश्रो महाधिवेशनले उनलाई सल्लाहकार समितिको अध्यक्ष समेत वनाएको थियो । कमिटिमा रहेर सक्रिय रुपमा पार्टीलाई योगदान समेत गरेका थिए उनले । जेठ १४ गते संविधान सभा विघटन हुनमा एमालेले दोषी भएको ठहर गरेका छन् किसन राईले । एमालेले इमान्दारिताको राजनीति नगरेको, नेकपा एमालेले राज्य पुनरसंरचनामा वेइमान गरेको र आफ्ना जनजाति सभासदहरूको भावनालाई कदर नगरेकोले पार्टीमा बसिरहन कुनै औचित्य नभएको भन्दै हालै एमाले परित्याग गरेका छन् । उनीसँग सनराइजले लिएको संक्षिप्त अन्तरवार्ता ।

किसन जी तपाईले किन एमाले पार्टी परित्याग गर्नु भएको- जातीय समस्या सम्वोधन गर्न नसकेर वा अन्य कुनै कारणले ?

एमालेभित्र जातीय विषय सघन रुपमा उठिराखेको स्थितिमा मैले पार्टी परित्याग गर्दा त्यही नै कारण होला भन्ने पर्नु स्वभाविक हो, तर त्यो मात्रै होइन । मलाई लागेको संविधानसभा विघटन हुनुमा प्रमुख भूमिका एमालेको रह्यो । यदि एमालेले संविधानसभाको चुनाव ताकाको आफ्नो निर्णयमा अडान लिन सकेको भएमात्र पनि संविधानसभा विघटन हुने थिएन । केन्द्रीय कमिटिले निर्णय गरे बमोजिम पहिला १५ र पछि १४ प्रदेशको खाकामा एमालेले अडान लिएको भए राज्य पनर्संरचनामा खास समस्या हुने थिएन । एमाओवादी र मधेशवादी दलहरू पनि त्यसको नजिक-नजिक थिए । राज्य पुनर्संरचना तथा राज्यको शक्ति बाँडफाँड समिति र आयोगले पनि एकल जातीय पहिचानसहितको राज्य प्रस्ताव गरेको थियो । कांग्रेसको बाहेक अन्य प्रस्ताव लगभग नजिक रहेको स्थितिमा एमाले स्पष्ट हुन सकेन । राज्यको सर्न्दर्भमा एकल जातीय पहिचानको माग गरिरहेको आदिवासी-जनाजाति सभासदहरूको ककस बहुपहिचानका लागि तयार हुँदा पनि एमाले तयार नहुनुले उसको असली नियत देखियो । संविधानसभामा लगभग दुइ तिहाई कम्युनिष्टको वर्चस्व हुँदा पनि एमालेकै कारण कम्युनिष्ट एकता प्रदर्शन हुन सकेन । एमालेको ढुलमुले प्रवृति यो पटकमात्र देखिएको होइन । प्रत्येक पटक आफ्नो निर्णयमा अडान लिन नसक्ने भएपछि एमालेमै रहिरहन आत्मग्लानी भो अनि पार्टीपरित्याग गर्नुको विकल्प रहेन ।

पार्टी भित्रै बसेर जातीय लगायत सवैखाले अन्य समस्याहरू समाधान गर्न सकिने अवस्था थिएन ? थिएन भने किन र कसरी ?

झट्ट हेर्दा अन्य पार्टीको दाजोमा जातीय सवालमा एमाले उदार देखिन्छ । पछिल्लो महाधिवेशनमा केन्द्रीय कमिटी गठनमा पनि जातीय र लैङ्गकि प्रतिनिधित्वको लागि कोटा छुट्याइएको थियो । त्योसंगै जातीय मोर्चाहरू पनि गठन भएका छन् । तर ती सबै भोटको लागिमात्रै हो भन्ने संविधानसभामा देखायो एमालेले । पार्टी एकल जातीय पहिचान सहितको संगठन स्वीकार्य हुने अनि राज्य निर्माणमा नहुने, कस्तो अचम्म ! कतिपय साथीहरूले अन्तरपार्टी संघर्षको कुरा पनि उठाई राख्नु भएको छ । तर मलाई के लाग्छ भने जातीय विषयमा अन्तरपार्टी संघर्ष गर्नु भन्दा बाहिर गर्दा फलदायी हुन्छ । हिजो आदिवासी-जनजातिहरू एक हुन नसक्दा शक्ति देखिएन र फल प्राप्त पनि भएन । तर एक भए फल प्राप्त हुन्छ भन्ने त ककसले पनि देखाइसकेको छ ।

एमाले पूर्व ककसका सदस्यहरूको भूमिका सम्वन्धमा के भन्नु हुन्छ ?

ककस र त्यसमा रहने एमाले प्रतिनिधिहरूको भूमिकामा म सन्तृष्ट छु । ककसकै कारण राज्य पुनर्संरचना आयोग बन्यो । ककसकै कारण आदिवासी-जनजातिको चेतनामा बृद्धि भएको छ । ककसबाट प्राप्त भएको शक्तिलाई संस्थागत गर्न आवश्यक छ ।

अब कुनै पार्टी प्रवेश गर्नु हुन्छ कि ? हुन्न भने कस्तो पार्टी चाहि देशमा आवश्यकता भएको महसूस गर्नुहुन्छ ?

अन्य पार्टी प्रवेश गर्ने सोच छैन । सबैभन्दा उत्तम लागेर २४-२५ वर्षलगानी गरिएको पार्टी छाडियो भने अन्य पार्टी प्रवेश गर्ने कुरा आउदैन । मेरो विचारमा नेपालको जुन मौलिक समस्या छ त्यसको लागि अहिले विद्यमान पार्टीसँग समाधानको उपाय छैन । नेपालको विविधतालाई मध्यनजर राखेर मौलिक सिद्धान्तसहितको पार्टीको आवश्यक छ भन्ने मलाई लागेको छ । नेपालको समस्या मार्क्सवादले समाधान गर्न सक्दैन भन्ने निष्कर्षा म पुगेको छु । रुसमा ७९ प्रतिशत रसियाली र चीनमा ९१ प्रतिशत हान जाति रहेको सर्न्दर्भमा मार्क्सवाद सफल भए पनि नेपालजस्तो अल्पसंख्यकै अल्पसंख्यकको देशमा सफल हुने संभावना देख्दिन । रुस र चीनका लागि वर्गीय मुक्ति प्रधान रह्यो भने नेपालको लागि जातीय मुक्ति प्रधान रहेको छ । नेपालका मुख्य राजनीतिक दलहरूमा बाहुन-क्षेत्रीको वर्चस्व रहेकाले तिनबाट समस्या समाधान नहुने स्पष्ट भइसकेको छ । ती दलको विकल्पमा आदिवासी-जनजाति र मधेशीहरूले गठन गरेका पार्टी बाहुन-क्षेत्रीको संलग्नता नरहेकोले त्यसले पनि समस्या समाधान गर्न सकेन । नेपालको विविधतालाई मध्यनजर राखेर विविध जातिसहितको नेतृत्वमा नयाँ विचारसहितको पार्टी गठन हुन आवश्यक छ ।

तपाईको पार्टी परित्याग नोटमा अतिजातीवादी भन्नु भएको छ नि त्यसको मतलव चाहिं के हो ?

जातीय मुक्तिको लागि जातीवादी हुन आवश्यक छ, तर अतिजातीवादीले समस्या समाधान गर्दैन । जातीय पहिचानसहितको राज्यको सवालमा अग्राधिकार र आत्मनिर्णयको अधिकारले विखण्डन ल्याउछ । नेपालको जस्तो अन्तरघुलित समाजमा अग्राधिकार र आत्मनिर्णयको अधिकारले जातीय सद्भाव खलबलिन्छ । जातीय राज्य पहिचानको लागिमात्र हुनुपर्छ । एकीकरणको नाममा ऐतिहासिक जातीय मुलुकहरू तहसनहस पारिएको मुआब्जा स्वरुप जातीय राज्य गठन गरिनु पर्छ । जुनसुकै राज्यमा जुनसुकै जातिले समानुपातिकताको आधारमा अधिकार पाउनु पर्छ भन्ने मलाई लाग्छ । मुख्य कुरो अवसर हो, आदिवासी-जनजातिले पनि अवसर पाउने हो भने अन्य सरह क्षमता प्रदर्शन गर्न सक्छन् । अहिलेसम्म राज्यसत्ता एकलौटी रुपमा सञ्चालन भएको कारण एक जातिलाईमात्र अवसर दिइएकोले अरुले क्षमता र कौशल देखाउनै पाएनन् । पहिचानसहितको राज्यमा जातीय अग्राधिकार रहने हो भने आज र भोलिमा के नै फरक रहला ।

अनुकुल परिस्थिति वनेमा फेरि एमाले पार्टी फर्किनु हुन्छ ?

प्रतिकूल भएरै एमाले छाडिएको हो तर्सथ, अनुकूल हुने कुरै आउदैन । स्थापनाको ६२-६३ वर्षसम्म नेपालमा कम्युनिष्ट पार्टी आदिवासी-जनजातिका लागि अनुकूल भएन भने अब अनुकूल होला भन्ने कल्पना गर्न सकिन्न ।

एमालेमा रही रहनुभएका अन्य साथीहरूलाई के भन्नु हुन्छ ?

एमालेमा रहनु हुने आदिवासी-जनजाति मूलका साथिहरूलाई यतिमात्र भन्छु, पार्टीको निर्देशन, ह्वीपलगायतलाई पालना गर्नअघि एकपटक स्वविश्लेषण, चिन्तन र मनन गर्नुहोस् । पार्टी अघि सारेका कार्यक्रम र योजनामा कति अडान लिनसक्छ त्यसको मूल्यांकन गर्नुहोस् । अन्तरपार्टीं संर्घष भन्ने भ्रमबाट मुक्त हुनुहोस् । नेतृत्वमा जबसम्म समानुपातिक प्रतिनिधित्व हुदैन तबसम्म अन्तरपार्टीं संर्घषको कुनै गुञ्जायस रहने छैन । एमालेलगायत नेपालका प्रमुख दल संचालनमा जुन फ्रेम तयार गरिएको छ त्यसलाई परिवर्तन गर्न धेरै मेहनत गर्नुपर्छ, त्यो भन्दा थोरै मेहनतमा आवश्यकीय फ्रेम तयार गर्न सकिन्छ ।


Views : 3190 | Date : 2012-06-09
Search Interview
Recent Comments
Sabina Lama
Raju Lama has always been my favourite.. thanks for this interview
bhim limbu
i was so glad to Bagaicha models and music, because i m interesting this site,
priyanka
vishu will u be my valentine?????
Ankita Mangla
Its been alwz fun to have sushant around. Congrats dear....proud of u... n all the best. M sure u gonna rock. Cheers... !!!