हाम्रो समाज नै आर्थिक,सामाजिक रुपमा पिछडिएको अवस्थामा साहित्य साह्रै उन्नत हुने कुरा भएन । तथापि, नेपाली साहित्यको स्तरीयतालाई ...... - उमेश अकिञ्चन

उमेश अकिञ्चन
राम्रो समालोचना र निबन्ध पनि लेख्नुहुने युवा कवि उमेश अकिञ्चन एक प्रतिभाशाली र वौद्धिक व्यक्तित्व हुनुहुन्छ । करिब डेढ दशक अघिबाट लेखन यात्रा सुरु गर्नु भएका कवि अकिञ्चनका विभिन्न साहित्यिक पत्र पत्रिकामा साह्रै गहकिला कविता, गीत र गजलहरू प्रकाशित भएका छन् । तर उहाँका एउटा गीत तथा गजल संग्रह बाहेक अन्य कृतिहरू प्रकाशित भने भएका छैनन् । संख्यात्मक भन्दा गुणात्मक साहित्यमा विश्वास राख्नु हुने कवि अकिञ्चनसित अशोक राईले लिएको अन्तरवार्ता ।

अहिले नेपाली साहित्यिक बजार (चहल पहल) कस्तो चल्दैछ ?

साहित्यको चहलपहल राम्रै छ । दैनिक किताब बिमोचन र साहित्यिक कार्यक्रमहरू भएकै छन् तर साहित्यको पाठक र बजार प्रबर्द्घन अपेक्षा अनुरुप हुन सकेको छैन ।

तपाई एक सशक्त युवा कवि तथा लेखक भएरपनि आफ्ना सृजनाहरू बाहिर ल्याउनु हुन्न यसको कारण के हो ?

खास केही कारण छैन । सिमित स्रोत, साधन भएको व्यक्तिले चाहना अनुरुप खर्च गर्न नसकेको जस्तो मात्र हो । किनभने म सँग धेरै सिर्जनाहरू हातमा छैनन् । विशेषतः कविता संग्रह प्रकाशन गर्दा पाठकलाई सार्वजनिक भइसकेका भन्दा केही नयाँ कविताहरूको स्वाद पस्कन दुई-चार सिर्जनाहरू सार्वजनिकिकरण नगरेको मात्र हुँ ।

तपाईको एउटा कृतिमात्र बाहिर आयो । कविताका अतिरिक्त निबन्ध र समालोचनामा पनि कलम चलाइरहनु भएको छ तपाईका अन्य कृतिहरू कहिले बाहिर आउने हुन त ?

पहिलो कुरा, म संख्यात्मक भन्दा गुणात्मक कृतिको पक्षपाति हुँ । सिर्जनामा परिष्कार खोज्दा-खोज्दै कृति आउँन ढिला भएको हो । अर्को कुरा, म पढाइमा अलि बढि नै अल्झिए कि जस्तो लाग्छ । तर, २०६७ को शुरूवातसँगै कविता कृति प्रकाशन गर्दछु । अनि क्रमश.....निबन्ध र कथा संग्रह प्रकाशनको पनि सोचमा छु ।

तपाई सारै गहकिला गजल र गीत पनि लेख्नु हुन्छ तपाईले लेख्ने विधाहरूमध्ये कुन विधा ज्यादा मन पर्छ ?

मैले नाटक र उपन्यास बाहेक सबै विधामा कलम चलाएको छु । हुनत, कविता धेरै प्रकाशित भएकोले होला मलाई चिन्नेहरूले कवि नै भनेर चिनेजस्तो लाग्छ । तर मलाई साहित्यको कुनै एउटा विधामा सिमित भएर रमाउन मन लाग्दैन । मलाई के लाग्छ भने, मूल प्रश्न कुन विधामा कलम चलायो भन्दा पनि कसरी चलायो भन्ने हो । उपन्यासमा कलम चलाउँदैमा उ महान, गजल लेख्दैमा उ पत्रु भन्ने benchmark गरीनुहुन्न । मैले भन्नुपर्दा, मेरालागि सबै विधा समानरुपले प्रिय छन् । किनकी गीत, गजलले मलाई साहित्यको सामिप्यता दियो, कविताले साहित्यकारहरूको माझमा पु-यायो अब आख्यानले मानिसहरूको हृदयसम्म पु-याउनेछ जस्तो लाग्छ ।

नेपाली साहित्यको स्तर र अहिले लेखिदै आइएको विविध साहित्यिक धारहरूप्रति कस्तो धारणा राख्नु हुन्छ ?

हाम्रो समाज नै आर्थिक,सामाजिक रुपमा पिछडिएको अवस्थामा साहित्य साह्रै उन्नत हुने कुरा भएन । तथापि, नेपाली साहित्यको स्तरीयतालाई सन्तोषजनक रुपमा लिनु पर्दछ । जहाँसम्म विविध धारहरूको सवाल छ, हामी साहित्यलाई बढी theorize गर्न लाग्यौं कि जस्तो लाग्छ । समयको आवश्यकता अनुरुप आएका धारहरूलाई सकारात्मक लिन सकिए पनि, फेशन जस्तो आएको विचारहरूको बाढीलाई भने पचाउन सकिदैंन ।

 

नेपाली साहित्यमा आज परम्परा नमान्ने र अन्य सौन्दर्यशास्त्रहरूको वकालत गर्ने समूहहरू देखिदैछन् यस्लाई के भन्नुहुन्छ ?

Novelty is better than repetition भनिन्छ । परम्परावादी सोचले अबको साहित्य लेखिनु हुन्न भन्ने मलाई पनि लाग्छ । विभिन्न सौन्दर्यशास्त्रबाट साहित्यको विकास हुनु समयको सहि दिशानिर्देश हो भन्ने ठानेको छु ।

उत्तर आधुनिकताको पैरवी गर्दै त्यसमा अस्तित्व, पहिचान, समावेसीता र समानुपातिकता जस्ता कुराहरूको वहश उतिकै चलेकोछ तपाईको नजरमा यो ठीक या बेठीक के हो ?

उत्तरआधुनिकता बहुल विषय केन्द्रित छ । समाजशास्त्र, राजनीतिशास्त्र साथ-साथै साहित्यमा यस्को प्रयोग भएको छ । शासन प्रणालीका विभिन्न स्वरुप, संयन्त्र परिवर्तन हुँदै गर्दा नेपालको राज्य संरचनामा पनि यी भावना मुखरीत हुनुपर्ने हुन्छ । उत्तरआधुनिकतालाई हामीले साहित्यिक चश्माबाट मात्र नहेरी holistic approach मा हेर्नुपर्छ । उत्तरआधुनिकता ले उठाएका बहुल विचार, बहुल केन्द्र अनि बहुल संस्कृति आदि सकारात्मक कुराहरू हुन ।  

हङकङ लगायत अन्य प्रवासी नेपाली साहित्यलाई कसरी हेरिरहनु भएको छ ?

नेपाली साहित्यको लागि हङकङ उर्वर भूमि हो । १९९७-९८ देखि नै त्यहाँका साहित्यिक पत्रिकाहरू पढदै आएको छु । जुझारु साहित्यकारहरूको क्रियाशिलताले हङकङ नेपाली साहित्यको लागि नयाँ क्षितिज बन्दैछ । बेलायत, अमेरिकामा पनि नेपाली साहित्यको चहलपहल राम्रै छ जस्तो लाग्छ ।

प्रवासमा बसेर लेख्ने साहित्यकार र प्रवासबाट लेखिएका कृतिहरूलाई मूलधारले कम महत्व दिने गरेको छ भनिन्छ । के भन्नुहुन्छ ?

प्रवासमा बसेर कृति निकाल्नु संघर्षपूर्ण र प्रशंसनिय दुवै कार्य हो । प्रवासको पीडा र आवाज, मूलधारले नसुनेको पनि सत्य हो । दुःखको कुरा साहित्यिक बजारमा साधै राम्रा कृतिले मात्र चर्चा पाउदैनन् । काठमाडौंमै बसेर लेख्नुहुने रमेश क्षितिज दाइको कविता संग्रह "अर्को साँझ पर्खेर साँझमा" ले पनि आवश्यक चर्चा पाएन । जबकि, त्यो कृति नेपाली साहित्यकै 'मास्टरपिस' कृति हो भन्ने लाग्छ । तथापि, मेरो विश्वास के हो भने, राम्रो कृति वा लेखक स्वदेश वा परदेश जहाँ भएपनि एकदिन त्यसको उचित मूल्यांकन भएरै छाडने छ ।

वर्तमान राजनैतिक सन्दर्भ खासगरिकन नयाँ संविधान निर्माण गर्ने र संघिय लोकतन्त्र संस्थागत गर्ने कुरामा लेखक साहित्यकारको भूमिका कस्तो होला ?

साहित्यकारहरूको काम नै लेख्ने हो । लेख्नु भन्दा बढि गर्नसक्ने उनीहरूको सामर्थ्य पनि हुन्न । साहित्यकारहरू नीति बनाउन सक्दैनन्, निर्णय गर्न सक्दैनन् तर राज्यको नीति निर्माणमा नागरिकको आवाज पु-याउन सक्छन् । साहित्यकारको भूमिका संविधानमा लक्षित नागरिकका right,voice लाई प्रतिनिधित्व गराउनु र नागरिकलाई देशमा भएको आमुल परिवर्तन र संघियता प्रति सकारात्मक पार्नु हो । त्यसका लागि साहित्यकारहरूले advocacy गर्नुपर्दछ ।

आदिवासी जनजातिहरू राज्यसत्ता संयन्त्रको पहुचविहिन् अवस्था र न्यून पहिचानको समस्यामा गुज्रिएकै छन् यी कुराहरू आज लेखक तथा साहित्यकारले लेख्दै आएको पनि हो । तपाई एउटा आदिवासी र जनजाति मूलको साहित्यकारले यो विषयलाई कसरी नियाल्नु भएको छ ?

हङकङमा आदिवासी/जनजाती समुदायबाट महावाणिज्यदूत माग गर्दा त सुनुवाइ भएन भने राज्यसत्ताले जनजातिलाई कसरी हेर्छ त्यो त प्रष्ट नै छ । लोकतन्त्र आउनु अघिको कुरा छोडौं, लोकतन्त्र आएपछि आदिवासी/जनजाति समुदायबाट कतिजना राजदूत, महाबाणिज्यदूत, सि.डि.., न्ययाधिश बने यस्को लेखाजोखा हुनुपर्छ । यो राज्यले मधेश आन्दोलन चर्किदा शिक्षा सेवाबाट मधेशी समुदायको त्यो पनि एक तह मुनिबाट ४-५ जनालाई सि.डि.. बनाएको थियो । हामी आदिवासी/जनजाति को फुटको कारण bargaining capacity कमजोर भएकोले हाम्रा brainy and bright प्रतिभाहरू ओझेल परेका हुन् । लोकतन्त्र भनेको केवल नारामात्र होइन, लोकतन्त्र भनेको पहुँच, पहिचान र प्रतिनिधित्वको व्यवहारिक अभ्यास पनि हो । तर, नेपालमा यस्को लागि हामीले अझै धेरै पर्खनुपर्छ ।

अन्तमा अहिले अनलाइन साहित्यको निकै ठुलो बजार छ । हामीले यसको कसरी सदुपयोग गर्न सक्छौं ?   बगैंचा डट् कमको माध्यमबाट विश्वभरिका पाठकहरूलाई केही भन्नु हुन्छ की ?

नेपाली साहित्यका e-magazine हरूले धेरै लेखक, पाठकहरूलाई समेटेका छन् । तर, कतिपय बान्कि नपरेका रचनाहरू e-magazine का कमजोरीहरू हुन् भन्ने ठानेको छु । भावनाको सम्पादन कही हुँदैन तर विधागत रुपमा जानकारीमूलक, पृष्ठपोषणयुक्त काम पनि सम्पादक मन्डलबाट भए पाठक र लेखक दुवैलाई लाभ नै हुने थियो । अन्त्यमा, अवसरको लागि बगैंचा डट कम परिवार तथा अशोक दाइलाई आभार व्यक्त गर्दछु । साहित्यिक सहयात्रामा हुनुहुने विश्वभरका महानुभावहरूमा मेरो नमस्कार ।


Views : 2156 | Date : 2010-03-01

Comments so far

 maniraj from Nepal says on 05 May 2010
i like it . very nice intervew .

Leave Your Comment



Please enter the string shown.
Search Interview
Recent Comments
Sabina Lama
Raju Lama has always been my favourite.. thanks for this interview
bhim limbu
i was so glad to Bagaicha models and music, because i m interesting this site,
priyanka
vishu will u be my valentine?????
Ankita Mangla
Its been alwz fun to have sushant around. Congrats dear....proud of u... n all the best. M sure u gonna rock. Cheers... !!!